जनता टाइम्स

२० कार्तिक २०७६, बुधबार १६:३८

प्रधानमन्त्री ओलीमा देखिएको त्यो उच्च मनोबल


दीपेश केसी

चिकित्सा क्षेत्रमा यो अध्ययनको विषय पनि हुनसक्छ, प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणको १२ वर्ष बितिसक्दा पनि देशको प्रधानमन्त्रीका रुपमा सक्रियतापूर्वक काम गरिरहनुभएको छ । त्यो पनि उमेरले ६७ वर्ष कटिसकेपछि । बेला बेलामा स्वास्थ्योपचारका लागि अस्पताल पुगेपनि ठमठम हिंड्दै फर्किएको दृष्यहरु देखिने गरेका छन । प्रधानमन्त्री ओलीको स्वास्थ्यका बारेमा अनेकन टिकाटिप्पणी हुन्छ । तर ओली सबैलाई छक्क पार्दै अस्पतालबाट मुस्कुराउँदै अनि हात हल्लाउँदै उही सोह्र बर्षे जवान जसरी निस्कनुहुन्छ । यसरी नै ओली सक्रिय भइरहनु भएको छ । यसरी उच्च मनोवलका साथ कहिलेसम्म सक्रिय भइरहन्छन भन्ने आम चासोको विषय बन्न थालेको छ । सवैको एउटै कामना देखिन्छ, ओलीले यही उत्साहका साथ आफ्नो कार्यकाल पूरा गर्नुपर्छ ।

सामान्य परिवारमा जन्मिनु भएका ओलीको जीवन जति संघर्षले भरियो, राजनीतिक यात्रा उत्तिनै कठिन रहँदै आएको छ । जस्तोसुकै कठिनाईका बाबजुद उहाँले हरेस खानुभएन । बरु संघर्षलाई रोज्नुभयो । संघर्षसँग नडराउने स्वभाव र बलियो आत्मबलका कारण ओलीले आजसम्मको उचाई हासिल गर्नुभएको हो । उहाँसँग रहेको उच्च मनोबल र दुरदर्शी बोलीलाई पंक्तिकारले बेला बेलामा नजिकबाट नियाल्ने मौका पाएको थियो । यसमध्ये दुईवटा घटना यहाँ प्रस्तुत गर्न सान्दर्भिक नै होला भन्ने ठान्दछु । २०६० सालमा फूर्तिला ओलीसँग साप्ताहिक विमर्शका लागि अन्तवार्ता लिन बालकोटस्थित निवासमा पुग्दा आँगन चकमन्नै थियो । तत्कालिन नेकपा एमालेभित्र प्रतिपक्षी जस्तै अवस्थामा रहनु भएका ओलीको निवास धेरैका लागि टाढा बनेको थियो । उहाँका अति निकटस्थबाहेक सायदै कोही आवतजावत् गर्दथ्यो बालकोटस्थित निवासमा । त्यसैले ओलीले फुर्सदिलो भएर अन्तवार्ता दिनुभएको थियो ।

संस्थापन पक्षबाट पेलिएका ओेलीको बोलीमा कत्तिपनि निराशा थिएन, बरु इख र उत्साह भरिएको देखिन्थ्यो । उहाँले अन्तवार्तापछि अनौपचारिक कुराकानीमा त्यही इखालु भाव व्यक्त गर्नुभयो । ओलीमा इख र आत्मबल गजबकै रहेछ भन्ने घटनाक्रमले देखाएको छ । उहाँले सबैभन्दा बढी आलोचना गर्ने गरेको माओवादीलाई काबूमा ल्याउन सक्नुभयो । गिरिजाप्रसाद कोइरालाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर चढाउनुभयो ओलीले तिनलाई लगाम लगाएर काबूमा राख्नुभयो भन्दा अतियुक्ति नहोला । दुई पटक प्रधानमन्त्री बन्ने भन्दा पनि माओवादी शक्तिलाई काबूमा राख्न सक्नु ओलीको जीवनमा सबैभन्दा ठूलो राजनीतिक सफलता बन्नेछ । यसको मूल्यांकन इतिहासले पक्कै गर्ला । यसमा पनि ओलीको त्यही उच्च मनोबलले काम गरेको छ ।

अर्काे घटना पनि राखौं । मधेश आन्दोलन चर्किइरहेको थियो । आठ वर्ष अघि तत्कालिन नकेपा एमालेका नेता ओली दिल्ली पुग्नुभएको थियो । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा उहाँको बोल्ने कार्यक्रम थियो । ओलीले केही प्रश्नहरुको उत्तर दिने क्रममा जातीय र क्षेत्रीयताको राजनीतिको खरो शब्दमा आलोचना गर्नुभयो । तिनको उपयोगितामाथि प्रश्न समेत गर्नुभयो । ओली दुरदर्शी छैनन् र त्यस्तो बोल्छन भन्नेमा केही नेपाली साथीहरु पनि थिए । तर, ओली ठीक रहेछन, दुरदर्शी रहेछन् भन्ने आजको राजनीतिक अवस्थाले पुष्टि गरेको छ । ओली नेपाली राजनीतिका त्यस्ता पात्र हुनुहुन्छ, जो गिरिजाप्रसाद कोइराला जस्तै गाली र ताली दुवै पाउँछन । कमी कमजोरी देखाउलान तर उग्रवादी शैलीभन्दा समन्वयकारी र व्यवस्थापकीय क्षमता देखाइरहेका छन ओलीले ।

पछिल्लो समय प्रधानमन्त्री ओली अहिले रोगसँग लडिरहेको बेला पनि जीवनको महत्वपूर्ण समयको सदुपयोग गर्न प्रयासरत हुनुहुन्छ । उहाँलाई रोगी भनेर पद त्यागको दबाब दिनेहरु पार्टीभित्रै र बाहिर नभएका होइनन । मृगौला प्रत्यारोपणपछि नियमित उपचार गर्दै आउनुभएका ओली पछिल्लो समय हप्तैपिच्छे डायलसिस गर्नुपर्ने अवस्थामा हुनुहुन्छ । यसबारे अनेकन टिकाटिप्पणी हुँदै आएको छ । ओलीले मृगौला प्रत्यारोपणपछि नेकपा एमालेको अध्यक्ष चलाउनु भयो, त्यसपछि पनि नेकपाको अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारी चलाइरहनु भएको छ । उहाँ दुईपटक देशको प्रधानमन्त्री भइसक्नु भएको छ । त्यसैले ओलीप्रति प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका जिम्मेवार नेताहरुले पनि स्वास्थ्यका मामलामा सकारात्मक सद्भाव देखाइरहेका छन् । काँग्रेस केन्द्रीय सदस्य समेत रहेका चिकित्सक डा. शेखर कोइरालाले ओलीलाई पद छाड्न प्रेसर दिन नहुने आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ । कोइरालाले ओलीले डायलासिस गरेर पनि काम गर्नसक्ने प्रष्ट पारिसक्नुभएको छ । अर्का काँग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द रिजालले देशलाई ओलीको योगदान अझै खाँचो रहेको फेसबुकमा लेखेर शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

ओली नेपालको इतिहासमा खरा अनि रसिला प्रधानमन्त्रीमध्येमा पर्नुहुन्छ । सवैभन्दा सक्रिय प्रधानमन्त्रीका रुपमा पनि चिनिनुहुन्छ । ओलीको बोली र सक्रियताले उहाँमा मृगौला प्रत्यारोपण गरिएको जस्तो लाग्दैनन । बेला बेलामा उहाँको स्वास्थ्यबारे चासो र विभिन्न हल्ला चल्छ । त्यस्तै भयो गत साता । ओली एक रात ग्रान्डी अस्पताल बस्नुभयो । उपचार र प्रधानमन्त्रीको स्वास्थयबारे चासो बढिरहँदा उहाँ अस्पतालबाट हसिलो मुद्रामा हात हल्लाउँदै बालुवाटार फर्कनुभयो । ओलीको स्वास्थयमा कुनै समस्या नभएको भने होइन । उहाँ मृगौलाको डायलसिस गर्दै आउनुभएको छ । उहाँको उपचारमा संलग्न डा. चक्रराज पाण्डेले भन्नुभएको छ, ‘प्रधानमन्त्रीज्यू स्वस्थ हुनुहुन्छ ।’ ओली सक्रियताका साथ काम गर्नसक्ने पाण्डेको भनाई छ । प्रधानमन्त्री ओली चिकित्सकको उपचारले मात्र काम गर्न सक्ने हुनुभएको होइन । उहाँमा चाहिने अनुशासन छ । विशेषगरी खाना बार्ने बानी रहेको डा. पाण्डेले बताउनु भएको छ । पाण्डेले पत्रकार ऋषि धमलासँगको अन्तवार्तामा भन्नुभएको छ, ‘उहाँ (ओली) ले खानामा ध्यान दिनुभएकाले पनि एकदमै स्वस्थ बनाएको देखिन्छ ।

ओली काममा सक्रिय हुन सक्नुमा आत्मबल मुख्य कारण देखिएको छ । चिकित्सक समेत रहेका नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला प्रधानमन्त्री केपी शर्मा ओलीको आत्मबलमा धेरै भर पर्ने बताउनु भएको छ । कोइरालाले भन्नुभएको छ, ‘प्रधानमन्त्रीजीलाई प्रेसर दिने र मोरल डाउन गराउने काम गर्न हुँदैन ।’ मृगौला प्रत्यारोपण गर्दा १२ वर्ष अगाडि आफूले ओलीलाई भारतमा भेटेको स्मरण गर्दै डा. कोइरालाले अझै काम गर्न सक्ने बताउनु भयो । ‘रेगुलर डायलसिस गराएर पनि प्रधानमन्त्रीको भूमिका निर्वाह गर्न सक्नुहुन्छ,’ कोइरालाको निश्कर्ष छ । ओली अस्वस्थ भएको भन्दै नाम चलेका नेताहरुले पनि पद त्यागेर आराम गर्न आग्रह गरेका छन् । त्यसमध्ये चर्चित नेता गगन थापा पनि पर्छन । तर, काँग्रेस नेता डा. कोइरालाको धारणा फरक छ । उहाँ भन्नुहुन्छ, ‘उहाँ आफै अशक्त महशुश गरेर स्वेच्छाले छोड्नुहुन्छ भने केही भन्नु छैन । जनता र पार्टीका साथीहरुले प्रेसर दिएर छोडाउने काम गर्नुहुँदैन, त्यसले मोरल डाउन हुन्छ ।’

प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सक डा. पाण्डे पनि मनोबलमा जोड दिनुहुन्छ । उहाँले ओलीमा मानसिक र शारीरिक शक्ति देखेको सार्वजनिक जनाउ दिइसक्नु भएको छ । ‘उहाँलाई मनोबल बढ्ने खालको वातावरण तयार गर्न सक्नुपर्छ । मनोबलका कारण ओलीले देशलाई जसरी नेतृत्व दिइरहनुभएको छ, त्यसरी दिइरहन सक्ने आशा व्यक्त गर्नुहुन्छ पाण्डे । ओलीको योगदानको देशलाई अझै खाँचो रहेको ठान्ने कोइराला फेरि पनि आत्मबलमा जोड दिनुहुन्छ । जयप्रकाश नारायणले पनि मृगौला डायलसिस गर्दै राजनीतिमा सक्रियता देखाउन सकेको स्मरण गराउनु हुन्छ कोइराला । ‘देशकै राष्ट्रप्रमुख हुँदा पनि गिरिजाबाबु अस्वस्थ हुनुहुन्थ्यो, उहाँले त चलाउनुभयो नि । अक्सिजन लिई लिई हिंडेर काम गर्नुभयो ।’

डायलसिस गरेर पनि प्रधानमन्त्री ओलीले काम गर्न सक्ने डा. कोइरालाको भनाई छ । अरु देशका उच्च ओहदाका व्यक्तिहरुले डायलसिस गरेर काम गर्न सकेको उहाँको भनाई छ । हप्ताको तीन दिन डायलसिस गरेर काम गर्न सकिने उहँको भनाई छ । ओलीको उपचारमा संलग्न डा. चक्रराज पाण्डे डायलसिस भनेको हामीले दिसापिसाब गरेजस्तै एउटा नियमित प्रक्रियामा सहयोग हो भन्नुहुन्छ । ‘डायलसिस गर्दै काम गरेको आधारमा उहाँलाई समस्या हुन्छ जस्तो मलाई लाग्दैन,’ पाण्डेले भन्नुभएको छ । चिकित्सकको पेशा भनेको रोगको निदान गर्ने र उपचारपद्धति बताइदिने हो । तर, चिकित्सकहरु पनि आत्मबलमै जोड दिन्छन् । ओलीमा जीवनयापनका लागि अनुशासन छ । जुन उहाँले खानपानमा गर्दै आउनुभएको छ ।

संस्थापन पक्षबाट पेलिएका ओेलीको बोलीमा कत्तिपनि निराशा थिएन, बरु इख र उत्साह भरिएको देखिन्थ्यो । उहाँले अन्तवार्तापछि अनौपचारिक कुराकानीमा त्यही इखालु भाव व्यक्त गर्नुभयो । ओलीमा इख र आत्मबल गजबकै रहेछ भन्ने घटनाक्रमले देखाएको छ 

सबैभन्दा महत्वपूर्ण उहाँमा मनोबल उच्च छ । त्यही मनोबलका कारण ओली सक्रिय भूमिका निभाइरहनुभएको छ । ओलीको राजनीतिक विचारसँग सहमत हुने नहुने अलग विषय हो । तर, उहाँले आफ्नो जीवनको अधिकांश समय राजनीतिक क्षेत्रमा बिताउनुभएको छ । डेढ दशक लामो कठोर जेलयात्रा, भूमिगत जीवनको खानपान र कठिनाईले पनि ओलीलाई अहिलेको पदमा मात्र नभई अवस्थामा ल्याएको हो । त्यसैले ओलीको कदमको आलोचना गर्दै गर्दा उहाँको मनोबल गिराउने काम गर्नुहुँदैन । यो राजनीतिक संस्कार र नैतिकता पनि होइन ।

ओली पदलोलुप होइनन भन्ने इतिहासका कतिपय घटनाक्रमले सिद्ध गरिसकेको छ । उहाँले आफ्नै भागमा आइसकेको बेला सुशील कोइरालालाई प्रधानमन्त्री बन्न सहयोग गर्नुभयो । गिरिजाप्रसाद कोइरालालाई २०६२/६३ को जनआन्दोलनमा मात्र नभई त्यसपछि पनि सहयोग गर्नुभयो । कोइरालाले जनआन्दोलनपछि उहाँलाई उपप्रधानमन्त्री बन्न आग्रह गरेपछि बन्नुभयो पनि ।