जनता टाइम्स

२१ कार्तिक २०७६, बिहीबार ०९:०१

प्रधानमन्त्री ओलीको छातीमा जमेको पानी सुक्यो, तत्काल डायलाइसिस गर्न नपर्ने


र्ने

काठमाडौं, कात्तिक २१ । प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल डायलाइसिस गर्न नपर्ने भएको छ । प्रधानमन्त्री ओलीको छातीमा जमेको पानी सुक्दै गएकाले तत्काल डायलाइसिसको खाँचो नरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

‘प्रधानमन्त्रीको छातीमा पानीको मात्रा सुकेको छ । स्वास्थ्यमा सुधार देखिएकाले तत्काल डायलाइसिस गर्नुपर्ने अवस्था छैन, बीच–बीचमा स्वास्थ्य परीक्षण गरिन्छ, त्यतिवेला समस्या देखियो भने मात्रै फेरि डायलाइसिस गर्नुपर्ने हुन्छ,’ प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्राडा. दिव्या सिंह शाहले भन्नुभयो । स्रोतका अनुसार प्रधानमन्त्रीका निजी चिकित्सकहरु डा. सिंह र दिलीप शर्माले सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालका चिकित्सकहरूसँग पनि नियमित परामर्श गरिरहनुभएको छ ।

ग्रान्डी इन्टरनेसनल अस्पताल र टिचिङस्थित मनमोहन कार्डियोथोरासिक सेन्टरमा गरिएको स्वास्थ्य परीक्षणको रिपोर्टबारे पनि उहाँहरूले त्यहाँका चिकित्सकसँग परामर्श गर्नुभएको हो । प्रधानमन्त्री ओलीको गत साउन र भदौमा सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा प्लाज्मा फेरेसिस गरिएको थियो ।

प्रधानमन्त्री ओलीका निजि चिकित्सक शाहका अनुसार पछिल्लोपटक मनमोहन कार्डियो थोरासिक सेन्टरमा प्रधानमन्त्रीको छातीको एक्सरे गरिएको छ । उहाँको रिपोर्ट राम्रो आएको छ । फोक्सोमा पानी अस्ति बढी जमेको थियो, अहिले ठीक छ । स्वास्थ्यमा सुधार देखिएकाले तत्काल दोस्रो डायलाइसिस गर्नुपर्ने आवश्यकता देखिएको छैन । लगातार डायलाइसिस गर्ने अवस्थामा प्रधानमन्त्री पुग्नुभएको छैन । बीच–बीचमा उहाँको स्वास्थ्य परीक्षण गरिन्छ । केही समस्या देखियो भने मात्रै फेरि डायलाइसिस गर्नुपर्ने हुन्छ ।

स्वास्थ्य क्रमिक रूपमा सुधार हुँदै गएपछि प्रधानमन्त्री ओली बालुवाटारमा आरामसँगसँगै नियमित काममा पनि सक्रियता बढाउनुभएको छ ।