जनता टाइम्स

२१ कार्तिक २०७६, बिहीबार १३:२९

एक वडाध्यक्ष पदको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


मोरङ, कात्तिक २१

आगामी मङ्सीर १४ गते मोरङ जिल्लामा हुने एक वडाध्यक्ष पदको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । धनपालथान गाउँपालिका–२ को वडाध्यक्ष पदका लागि हुने मतदानका लागि जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको हो ।

उक्त कार्यालयले यही कात्तिक २७ गते मनोनयन पत्र दर्ताका लागि आह्वान गर्ने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिनुभयो । उक्त निर्वाचनमा वडाका एक हजार ९२७ महिलासहित चार हजार ७४ मतदाताले आफ्नो जनप्रतिनिधि चुन्ने छन् ।

वडाध्यक्ष तत्कालीन नेकपा (एमाले) तर्फबाट विजयी बलिराम भगतको २०७५ जेठ २४ गते मृत्यु भएकाले सो स्थानका लागि उपनिर्वाचन हुन लागेको हो । जिल्लामा २०७६ साउन १७ गतेसम्ममा महिला तीन लाख ३० हजार, तेस्रो लिङ्गी दुई गरी जम्मा छ लाख ७२ हजार ९७५ मतदाता छन् ।