जनता टाइम्स

२१ कार्तिक २०७६, बिहीबार १५:२७

आलमको बयान सकियो : थुनछेक बहश आजै, यी हुन पक्ष र बिपक्षमा बहश गर्न तयार कानून ब्यवसायी


रौतहट, कात्तिक २१ । निलम्वित सांसद मोहम्मद आफताव आलमको तीन दिनपछि अदालतमा बयान सकिएको छ । जिल्ला अदालत रौतहटको बन्द इजलाशमा आलमको बयान आज दिउसो एक बजेतिर सकिएको हो । तीनवटै मुद्धामा आलमलाई न्यायधीश दिपक ढकालको बन्द इजलाशमा तीन दिनमा करिब ६० प्रश्न सोधिएको छ । कर्तव्य ज्यान मुद्धामा मंगलबार र बुधबार बयान भएको थियो भने आज ज्यान मार्ने उद्योग र बिस्फोटक पदार्थ सम्बन्धमा बयान दिइएको हो ।

घटना सम्बन्धमा सोधिएका प्रश्नहरुको जवाफमा आलमले इन्कारी बयान दिएका छन । न्यायधीश ढकालले सोधेको तत्कालिन समयमा सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो भन्ने प्रश्नमा मात्रै आलमले ‘हो त्यसबेला मुद्धा नचलाउने निर्णय गरेको थियो’ भन्ने जवाफ दिएका छन । बयान सकिएसँगै आजै थुनछेक बहश अघि बढाइएको छ । पीडितको पक्षबाट पूर्वमहान्यायाधिवक्ता डा. युवराज सङग्रौला, वरिष्ठ अधिवक्ता पुष्पराज पौडेल, आशिकराम कार्की, गोविन्द शर्मा, ओमप्रकाश अर्याल, दिनेश त्रिपाठीलगायतले बहस गर्ने बताइएको छ ।

प्रतिवादी आलमको पक्षबाट बहस गर्न वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, योगेन्द्र अधिकारी, सुनिल पोखरेल, कृष्ण घिमिरेलगायतका कानून ब्यवसायी रौतहट आइपुगेका छन । आलमको पक्षमा बरिष्ठ अधिबक्ता शम्भु थापाले पनि बहश गर्ने बताइए पनि रौतहट पुगिनसकेको जानकारी दिइएको छ । आलमलाई तीनवटै मुद्धामा ३२ वर्ष कैद माग गर्दै सरकारी वकिल कार्यालयले मुद्धा दर्ता गरेको छ ।

२०६४ साल चैत्र २७ गते आलमका काका शेष इन्द्रिसको गोठमा बम विष्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँटाभट्टामा जलाएको आरोपमा गत असोज २६ गते नेता आलम पक्राउ परेका थिए । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले २०७५ चैत ८ गते पछिल्लो पटक जिल्ला प्रहरी कार्यालयलाई मुद्धाको अनुशन्धान गर्न पत्राचार गरेपछि घटनाका मुख्य आरोपी भनिएका आलम पक्राउ परेका हुन ।रौतहटको यमुनामाइ गाउपालिका ४ का त्रिलोक प्रताप सिंह मारिएको भन्दै बावु श्रीनारायण सिंह र ओसी अख्तर मारिएको भन्दै आमा रोक्साना खातुनले कर्तव्य ज्यान मुद्धामा आलमबिरुद्ध किटानी जाहेरी दिएका थिए ।