जनता टाइम्स

२२ कार्तिक २०७६, शुक्रबार १५:२१

बाहालवाला मन्त्रीकै कार्यालयमा प्रहरीले छापा मारेपछि..


कञ्चनपुर, कात्तिक २२ । ठगी र किर्ते मुद्दामा फरार रहेका सुदूरपश्चिम प्रदेशका एक मन्त्रीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन अघि बढाएको छ । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले आपराधिक गतिविधिबाट सम्पत्ति आर्जन गरेको सूचनाका आधारमा सुद्धिकरण विभागले विस्तृत छानबिन अघि बढाउँदै छापा मारेको हो ।

बहालवाला मन्त्रीमाथि विभागले यसरी विस्तृत छानबिन गरेको यो पहिलोपटक हो । मन्त्री रावलमाथि छानबिनका लागि विभागले नेपाल प्रहरीका एसपी कमल थापाको नेतृत्वमा विशेष टोली गठन गरेको छ  । सोही टोलीले बुधबार र बिहीबार मन्त्री रावलको कारोबारसम्बन्धी विभिन्न कागजपत्र जफत गरेको छ । मन्त्री रावलविरुद्ध गत ७ साउनमै जिल्ला अदालत कञ्चनपुरमा ठगी तथा किर्ते मुद्दा दायर भइसकेको छ । सोही मुद्दाको ‘सम्बद्ध मुद्दा’ का रूपमा सम्पत्ति शुद्धीकरणले उनको सम्पत्ति छानबिन थालेको हो ।

विभागको टोलीले तीन दिन लगाएर राज्यमन्त्रीको सम्पत्तिसम्बन्धी कागजपत्र संकलन गरेको छ । मालपोत कार्यालय, यातायात कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कर कार्यालयबाट सबै कागजपत्रहरू संकलन गरिएको हो । प्रमाण लोप गर्न सक्ने भएकाले राज्यमन्त्रीकै कार्यालयमा समेत छापा हानेर केही कागजपत्र लिइएको हो । उनको टिप्पर तथा इँटाभट्टामा समेत लगानी रहेको खुलेको छ । उनको सबै चल–अचल सम्पत्ति विभागले रोक्का राखेको छ । बैंक खाता तथा सम्पत्ति रोक्का राखेर राज्यमन्त्री रावलमाथि छानबिन थालिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले फरार अभियुक्तका रूपमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि प्रहरीले पक्राउ गर्न चासो दिएको छैन । मन्त्री रावलबिरुद्ध साढे १५ करोड बिगोदाबीसहित मुद्दा दायर भएको थियो । जनज्योति एजुकेसन फाउन्डेसनका नामको सेयर बिक्रीमा किर्ते र ठगी गरेको भन्दै उनीसहित ३६ जनाविरुद्ध मुद्दा दायर भएको हो ।

सेयर ट्रान्सफर गरेको नक्कली कागजपत्रका आधारमा उनले पैसा लिएका थिए । १५ करोड ६७ लाख रुपैयाँ बिगोदाबी गरी उनीविरुद्ध मुद्दा दायर भएको थियो । जसमा कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीको समेत मिलेमतो खुलेपछि उनीहरूलाई समेत प्रहरीले प्रतिवादी बनाएको छ ।