जनता टाइम्स

२२ कार्तिक २०७६, शुक्रबार १८:१८

बाह्र बर्षअघिको बिष्फोटमा मारिएका ओसी अख्तरकै पत्नी आलमको बचाउँमा अदालत पुगेपछि..


रौतहट, कात्तिक २२ । नेपाली कांग्रेका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमले १२ वर्षअघि बम बिष्फोट गराएर मारेका भनिएका ओसी अख्तर नमारिएको बरू वैदेशिक रोजगारमा गएर नफर्केको भन्दै उनकी पत्नी अमना खातुन निवेदन दिन अदालत पुगेकी छन । आलमका सहयोगीहरुले उनलाई प्रलोभनमा पारेर अदालतमा निवेदन दिन लगाएका हुन ।

ओसी अख्तर र त्रिलोक सिंह बम बिष्फोटमा घाइते भएपछि जिउँदै इँटाभट्टामा हालेको अनुसन्धानबाट देखिएको भन्दै सरकारी वकिल कार्यालयले आलमविरूद्ध गत साता मुद्दा दायर गरेको थियो । आलमलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने, धरौटीमा छोड्ने वा तारेखमा छोड्ने भन्नेबारे रौतहट जिल्ला अदालतमा बहस भइरहेको बेला मृतक भनिएकामध्ये ओसी अख्तर जिउँदै रहेको निवेदनसहित पत्नी अदालतमा आइपुगेकी हुन । जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा आलमको मुद्दामा थुनछेक बहस जारी छ । ‘सरकारी वकिलले बहस गर्दागर्दै होस्टायल हुने खालको निवेदन लिएर एक व्यक्ति आएका थिए, हामीले त्यस्तो निवेदन स्वीकार गर्न कानुनले नदिने भन्दै प्रतिकार गर्यौं,’ आलमबिरुद्ध बहस गर्न रौतहट आइपुग्नु भएका सहन्यायाधीवक्ता सूर्य दाहालले भन्नुभयो ।

ती महिलाको निवेदनलाई न्यायाधीश ढकालले सेमत अहिले नहेर्ने बताउनु भएको थियो । लामो समय आतंकको भरमा राज गरेका आलमले बिभिन्न समुह परिचालन गरी पीडितलाई धम्क्याउने, प्रलोभनमा पार्ने गरिरहेको तथ्य यस घटनाले उजागर गरेको छ । आलमका विरूद्ध जाहेरी दिने परिवार, साक्षी लगायतलाई उनका मानिसहरूले डरधम्की र प्रलोभन देखाउन सुरू गरेको भन्दै प्रहरीले समेत सतर्कता अपनाएको छ । निर्मम तरिकाले हत्या गरेको अभियोगमा आलमसहित उनका भाइ महम्मद अफताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज भन्ने शेष सराज, शेख फजलेहक, सगिर आलम, शेख जुमईन भन्ने शेख मलकार, गौरीशंकर साह, बद्री सहनी र मुक्ति साहबिरुद्ध मुद्दा दायर गरिएको छ । आलम पक्राउ परे पनि अन्य अभियुक्त फरार छन ।

अभियुक्तमध्ये मुक्ति साहलाई देखीदेखी, जानीजानी पनि घटना ढाकछोप गरेकोमा मतियार बनाइ अभियोग पत्र दर्ता गरिएको छ । अभियोग पत्रमा दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टामा लगेर जिउँदै जलाई मारेको उल्लेख छ । चुनावमा बम पड्काएर मानिस तर्साउने र त्यही मेसोमा बुथ क्याप्चर गर्ने योजना बनाएर आलमले आफ्नो घरनजिकैको कटेरोमा केही नेपाली र भारतीयलाई बम बनाउन लगाएका विवरण आएका छन । बम बनाएकै ठाउँमा विष्फोट हुँदा दुई जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको र नजिकै गाउँका २२ वर्षीय त्रिलोक सिंह पिन्टु र २१ वर्षीय ओसी अख्तर घाइते भएको प्रत्यक्षदर्शीहरूले बयान दिएका छन । विष्फोटमा मारिएका र घाइते दुवैलाई आलमको निर्देशनमा नजिकैको इँटाभट्टामा हुलेको भन्दै उनीविरूद्ध पिन्टुका बुबा श्रीनारायण र ओसीकी आमा रूक्सना खातुनले प्रहरीमा जाहेरी दिए पनि लिन नमानेपछि हुलाकबाट जाहेरी पठाएका थिए ।

त्यसपछि प्रहरीले यसमा अनुसन्धान गरेको थियो । प्रहरीले आलम र उनका भाइसहित पाँच जनालाई मुद्दा चलाउन भन्दै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाए पनिसरकारी वकिलले मुद्दा चलाउन अस्वीकार गरेको थियो । सो निर्णयलाई महान्यायाधीवक्ता कार्यालयले पनि सदर गरेको थियो । तर सिंह र खातुन दुवैले सो निर्णयबिरुद्ध सर्वोच्च अदालतमा रिट दिए । रिट परेको दुई वर्षपछि न्यायाधीश सुशीला कार्की र भरतबहादुर कार्कीको इजलासले सरकारी वकिलको निर्णय खारेज गर्दै यसमा थप अनुसन्धान गरेर अदालतमा मुद्दा लैजान आदेश गरेको थियो ।

सात वर्षसम्म उक्त आदेश कार्यान्वयन नभएपछि अधिवक्ता पुष्प पौडेलले अदालतको अवहेलना निवेदन दिनुभयो । उक्त निवेदनमा सुनुवाइ गर्दै गएको असारमा फेरि सर्वोच्चले पहिलेको आदेश कार्यान्वयनको अवस्थाबारे प्रत्येक महिना प्रतिवेदन बुझाउन महान्यायाधीवक्तालाई निर्देशन दिएपछि आलममाथि अनुसन्धान अघि बढाउँदै पक्राउ गरी अदालतमा मुद्दा दायर गरिएको हो ।