जनता टाइम्स

२३ कार्तिक २०७६, शनिबार ११:४६

अयोध्याको जमिन हिन्दुको भएको सुप्रिम कोर्टको फैसला, मस्जिद बनाउन पाँच एकड जमिन दिन आदेश


नयाँ दिल्ली, कात्तिक २३

भारतको सुप्रिम कोर्टले अयोध्याको विवादित भूमि हिन्दुको भएको फैसला गरेको छ । लामो समयदेखि कायम अयोध्याको राममन्दिर–बाबरी मस्जिदसम्बन्धी मुद्दामा सुप्रिम कोर्टले आज फैसला सुनाउदै मस्जिद बनाउन पाँच एकड जमिन दिन पनि आदेश दिएको छ ।

पाँच सदस्यीय फुल कोर्टले सर्वसम्मतिमा फैसला सुनाउदै अयोध्यामा राम मन्दिर बनाउने बाटो समेत खुलाइदिएको छ । यो फैसलासँग मुस्जिद बनाउन अयोध्यामै पाँच एकड जमिन उपलब्ध गराउन आदेश दिएको हो । कोर्टले मन्दिर संचालनका लागि एउटा ट्रष्ट बनाउन समेत आदेश दिएको छ ।

हिन्दु र मुस्लिम सम्प्रदायबीच अयोध्यास्थित विवादास्पद भूमिलाई लिएर करिब सात दशकदेखि विवाद कायम थियो । हिन्दुले विवादास्पद भूमिमा राम जन्मभूमि भएको दाबी गर्दै आएका थिए भने मुस्लिमले बाबरी मस्जिद भूमिको अडान राख्दै आएका थिए । यही विवादलाई लिएर भारतमा हिन्दु र मुस्लिम बेलाबखत तनाव सिर्जना हुँदै आएको छ । सन् १९९२ डिसेम्बर ६ भाजपा निकट हिन्दु समर्थकहरुले बाबरी मस्जिद भत्काएपछि रामजन्म भूमि विवाद उत्कृर्षमा पुगेको थियो । त्यसपछि भड्किएको हिंसाले सयौंको ज्यान लियो र अकल्पनिय जनधनको क्षति गरेको थियो ।