जनता टाइम्स

२४ कार्तिक २०७६, आईतवार ०८:४६

अमेरिका जान नपाएपछि रिसाए मुख्यमन्त्री राउत


जनकपुरधाम, कात्तिक २४

प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत अमेरिका जान नपाएपछि केन्द्र सरकारसँग रिसाउनु भएको छ । नेपाल साहित्य उत्सवमा ‘प्रदेश वा परदेश’ शीर्षकमा भएको छलफलमा मुख्यमन्त्री राउतले सरकारको दोहोरो चरित्रका कारण प्रदेश–२ नेपालमै छ कि छैन भन्नेमा शंका लागेको बताउनु भयो ।

‘म अमेरिका जानका लागि रहदानी बनाउने प्रकृया अगाडि बढाएको छु, मेरो बन्न सकेन तर शेरधन राईलगायतका अन्य मुख्यमन्त्री कयौं पटक विदेश भ्रमण गरेर आइसके, के यो असमान व्यवहार होइन र ?’ उहाले प्रश्न गर्नुभयो ।

यस्तै उहाले संघले पठाएका कर्मचारी पनि बुढा र काम नलाग्ने भएको प्रतिक्रिया दिनुभयो । संघ सरकारप्रति आक्रामक रूपमा प्रस्तुत हुनुभएका मुख्यमन्त्री राउतले प्रदेशमा कर्मचारी अभावको देखाउँदै संघले प्रदेशलाई पठाएको कर्मचारीसमेत काम नलाग्ने वा रिटायर्ड हुन लागेका भएको आरोप लगाउनु भयो । उहाले संघीयता नरुचाउने कर्मचारीका कारण देश विकास हुन नसकेको दाबी समेत गर्नुभयो ।