जनता टाइम्स

२४ कार्तिक २०७६, आईतवार १५:०५

सम्पत्ति सुद्धिकरणमा पनि तानिए आफताव आलम


रौतहट, कात्तिक २४ । बाह्र वर्षअघि इटाभट्टामा जिउँदै मान्छे जलाएको घटनामा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफ्ताब आलम सम्पत्ति शुद्धीकरणमा समेत तानिएका छन । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाइएका बहालवाला सांसद आलमलाई सम्पत्ति शुद्धीकरण विभागले उपस्थित गराउन भन्दै प्रहरीलाई पत्र पठाएको हो । आलमको सम्पत्ति सुद्धिकरणमा छानविन अघि बढाउँदै उपस्थित गराउन बिभागले गत बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्राचार गरेको छ ।

प्रहरीले शुक्रबार जिल्ला अदालतमा आलमको थुनछेक बहस चलिरहेको र छुट्ने भए प्रहरीमा उपस्थित गराउन पत्राचार गरेको छ । आलमविरुद्धको मुद्दामा शुक्रबार पनि थुनछेक बहस भएको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा वादीका तर्फबाट कानुन व्यवसायीले बहस गरे। कानुन व्यवसायी डा। युवराज संग्रौला, कुमार शर्मा आचार्य, गोविन्द शर्मा, ओमप्रकाश अर्याल, दिनेश त्रिपाठी, आशिषराम कार्की, मनीषकुमार श्रेष्ठ, पुष्पराज पौडेलले बहस गर्नुभएको थियो । पर्साका न्यायाधिवक्ता रुद्रप्रसाद पन्थी, रौतहटका सहायक न्यायाधिवक्ता रुद्रप्रसाद पन्थीले पनि आलमबिरुद्ध बहस गर्नुभएको छ ।

पूर्वमहान्यायाधिवक्ता डा। संग्रौलाले पहिलो पटक प्रहरी सुरक्षामा बसेर बहस गर्नुपरेको बताउनु भयो । यता आलम आतंकको कारण जाहेरवाला, साक्षी असुरक्षित रहेकाले बयान फेर्न थालेका छन । २०६४ चैत २७ गते भएको बम विस्फोटका घाइते तथा मृतकलाई इँटाभट्टामा जलाएको आरोपमा आलम असोज २६ गते पक्राउ परेका थिए । पक्राउपछि उनको अबैध कामबाट अकुत सम्पत्ति आर्जन गरेको निश्कर्षसहित सम्पत्ति सुद्धिकरण बिभागले अनुसन्धान अघि बढाएको हो । आलमबिरुद्ध रौतहट अदालतमा थुनछेक बहश जारी रहेको छ ।