जनता टाइम्स

२५ कार्तिक २०७६, सोमबार १३:५५

घोराही, तुलसीपुर र बंगलाचुली मौरी जोन घोषित, १४१ किसान आबद्ध


दाङ, कात्तिक २५

दाङमा चालू आर्थिक वर्षदेखि शुरु भएको मौरी जोन कार्यक्रममा १४१ किसान आबद्ध भएका छन् । तीमध्ये चार सहकारी र एउटा सामूहिक छ भने अरू १३६ व्यक्तिगत मौरी फार्म छन् । मौरी जोन परियोजना कार्यान्वयन एकाइका कृषि अधिकृत कलाबुढा मगरका अनुसार मौरी जोनमा हालसम्म घोराही र तुलसीपुरका दुई– दुई सहकारी र एउटा सामूहिकसहित १३६ वटा मौरी फार्महरु सूचीकृत भएर प्रत्यक्ष मह उत्पादनको काम गर्दै आएका छन् ।

“पहिलो चरणमा किसानको मागका आधारमा मौरी जोन क्षेत्रहरुमा ‘कस्टम हाइरिङ’ र ‘पोस्ट हाइरिङ’ सेन्टर स्थापना गर्ने कार्यक्रम छ”, उहाँले भन्नुभयो, “कृषिकहरुलाई तालीम, अवलोकन भ्रमण गराउने एवम् मह उत्पादन, प्रशोधन र बजारीकरण तालीम पनि सञ्चालन गरिने छ ।”

जिल्ला मौरी जोन कार्यक्षेत्र सिफारिस कार्यदलको प्रतिवेदनअनुसार तुलसीपुर, घोराही, शान्तिनगर, दङ्गिशरण, बबई र बङ्गलाचुलीलगायत पालिकाहरुमा अहिले व्यावसायिक मौरीपालनको काम भइरहेको र त्यसमा पनि मेलिफेरा र सेरेना जातको मौरी बढी पालिएका छन् । अहिले जिल्लामा सेरेना जातको दुई हजार ५४० र मेलिफेरा जातको १७ हजार ८०२ गरी २० हजार ३४२ मौरीको घार रहेको र त्यसबाट १०७ मेट्रिकटन सेरेना जातको र ६७५ मेट्रिकटन मेलिफेरा जातको गरी ७९२ मेट्रिकटन मह उत्पादन भइरहेको बताइएको छ ।

मौरी जोन स्थापनाका लागि मौरीका बारेमा सम्भाव्यता अध्ययन टोलीले घोराही नगरपालिकाको विभिन्न स्थानमा अवलोकन गर्दा घोराहीमा १० देखि ३०० घारसम्म मौरी पालन गरिएको र अधिकांश वडामा मौरीपालनको काम भइरहेको पाइएको अध्ययन टोलीका संयोजक तिलक ओलीले जानकारी दिनुभयो । घोराहीमा मात्रै हालसम्म तीन वटा मह प्रशोधन केन्द्र सञ्चालनमा छन् । यस क्षेत्रमा प्रशस्त मौरी चरनको क्षेत्र भएको हुँदा करीब १५४ किसानले व्यावसायिक रुपमा मौरीपालन गरिरहेका छन् ।

तुलसीपुरमा पनि न्यूनतम पाँचदेखि ३०० सम्म मौरीको घार रहेको र त्यसमा ९५ किसानले व्यावसायिक रुपमा मौरीपालनको काम गरिरहेका छन् । बङ्गलाचुलीमा पनि करीब ७० किसानले व्यावसायिक रुपमा मौरी पाल्दै आएका छन् । पहिलो चरणमा दाङको घोराही, तुलसीपुर र बङ्गलाचुलीमा मौरी जोन क्षेत्र शुरु गरिएको हो । मौरीको चरनका लागि चिउरी, तोरी, रुदिलो, साज, सिसौ तथा खयरका बोटहरु पनि प्रशस्त पाइएको अध्ययन टोलीले बताएको छ । ती महको मूल्य प्रतिकिलो रू ३०० देखि ४५० सम्म छ ।