जनता टाइम्स

२६ कार्तिक २०७६, मंगलवार ०४:३६

कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजान जापान तयार


काठमाडौं, कात्तिक २६ । जापानले नेपाली कामदारलाई कृषि क्षेत्रमा लैजाने आन्तरिक गृहकार्य अघि बढाएको छ । यसअघि नर्सिङ क्षेत्रमा मात्रै नेपाली कामदार लैजाने निर्णय गरेको जापानले अव कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने गृहकार्य अघि बढाएको हो ।

यस बिषयमा सोमवार नेपालका लागि जापनिज राजदूत मासामिची साइगोले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग छलफल गर्नुभएको छ । ‘जापानले १४ वटा क्षेत्रमा विदेशी कामदार लैजाने नीति छ। कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजान सकिनेछ,’ मन्त्री बिष्टसँग राजदूत साइगोले भन्नुभयो, ‘कृषि क्षेत्रका लागि छुट्टै सीप परिक्षण र भाषा पनि चाहिनेछ।’

जवाफमा श्रममन्त्री विष्टले जापानको आवश्यता अनुसार भाषा परीक्षण र सीप परीक्षण गर्न सकिने जानकारी गराउनु भएको छ । जापानले पहिलो चरणमा नर्सिङ क्षेत्रको लागि भाषा परीक्षा भइरहेको छ। नेपाल र जापानबीच श्रम समझदारीमा हस्ताक्षर भएपनि श्रम भिसामा नेपाली कामदार लैजाने प्रक्रिया अगाडि बढेको छ।

पहिलो लटमा नर्सिङ क्षेत्रमा कामदार लैजान भाषा र सीप परीक्षण भइरहेको छ। यो दुवै परीक्षामा उत्तिर्ण हुने प्रशिक्षार्थीलाई रोजगारदाताले चयन गर्ने जापानले जनाएको छ।