जनता टाइम्स

२७ कार्तिक २०७६, बुधबार १३:२६

शैक्षिक सुधार अभियानमा नगर प्रमुख, विद्यार्थी पढाउँदै


जाजरकोट, कात्तिक २७
भेरी नगरपालिकाको शैक्षिक अवस्था सुधार गरी जिल्लाकै नमूना बनाउने अभियानमा जुट्नुभएका नगरप्रमुख चन्द्रप्रकाश घर्ती आफै विद्यार्थी पढाउँदै आउनुभएको छ । विद्यालय अनुगमण तथा निरीक्षणमा दैनिक जाने नगरप्रमुख घर्तीले विद्यालयको भौतिक संरचना मात्र हेर्नुहुन्न, विद्यार्थीको सिकाइ उपलब्धि बुझ्न विद्यार्थी पढाउने काम समेत गदै आउनुभएको छ ।
नगर प्रमुख घर्तीले आफ्नो मुलुकको भविष्य बोक्ने आजका कर्णधार बालबालिकाको शिक्षा के कस्तो रहेछ भनी छड्के जाँच गर्दै सिकाइ उपलब्धिसमेत जाँच गर्न आफैले पढाउने गरेको बताउनुभयो । विज्ञान र गणितमा राम्रो ज्ञान भएका र अन्तर्राष्टियस्तरको खेलकूदमा छवि बनाएका उहाँले मावि तहको कक्षा फुर्सद हुने वित्तिकै पढाउने गरेको बताउनुभयो ।
शिक्षामा लगानी गरेर मात्र नहुने भन्दै घर्तीले भन्नुभयो, “निरन्तर खबरदारी, अनुगमण र शिक्षण सिकाइ क्रियाकलाप कस्तो छ भनि अध्ययन गर्नु पनि मुख्य कुरा हो ।” उहाँले प्रशिक्षण अनुसारको सुधार भएको छ कि छैन भनि विद्यालयमा दैनिक जाने गरेको बताउनुभयो । शिक्षालाई प्राविधिसँग जोडेर परिणाममुखी बनाउनुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “हामीले विद्यालयको समस्या विद्यार्थीको मुखबाट सुन्ने हो, कहाँ के समस्या छ भन्ने कुरा, अनि पो सुधार गर्न सजिलो हुन्छ, को शिक्षक कति दिन विद्यालय आउनुभयो, को आउनुभएन र कति पढाइ भयो किताब नहेरी कहाँ थाहा हुन्छ ।” कक्षामा नगरप्रमुख जान थालेपछि शिक्षक पनि आफ्नो शिक्षणकार्य सुधार गर्नुपर्ने भन्दै सक्रिय भएका विद्यार्थीले बताएका छन् । आजभोलि विद्यालयमा शिक्षकले निरन्तर पढाउनुका साथै विद्यार्थीसँग छलफलसमेत बढी नै गर्दैआएका सरस्वतीमावि काफलचौरका विद्यार्थी रोशन पुनले बताउनुभयो ।