जनता टाइम्स

२७ कार्तिक २०७६, बुधबार १५:१२

सकियो बडिगाड–२ को मनोनयन दर्ता, नेकपालाई जनमोर्चाको समर्थन


कमल पौडेल / बागलुङ
बागलुङ बडिगाड गाउँपालिका वडा नं. २ मा वडा अध्यक्षको लागि हुने उपनिर्वाचनमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को तर्फवाट ढाल प्रसाद शेरचन, नेपाली काग्रेसको तर्फवाट डिल बहादुर राना र समाजवादी पार्टीको तर्फवाट हरिलाल रानाको उमेद्वारी परेको छ। नेकपाका उमेद्वार ढालप्रसाद शेरचनको प्रस्तावकमा खगिश्वर अर्याल र समर्थकमा राष्ट्रिय जनमोर्चाका प्रेम बहादुर पुन रहनुभएको छ।
त्यस्तै नेपाली काग्रेसका उमेद्वार डिल बहादुर रानाको प्रस्तावकमा होसियारसिंह थापा र समर्थकमा प्रेमलाल अर्याल रहनुभएको छ। त्यस्तै समाजवादी पार्टीका उमेद्वार हरिलाल रानाको प्रस्तावकमा शिव बहादुर थापा, समर्थकमा खगि राना रहनुभएको निर्वाचन अधिकृत ध्रुव ढकालले जानकारी दिनुभएको छ।  निर्वाचन कार्यालय बडिगाड गाउँपालिका ५ खार बजारमा आज विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गरिएको थियो ।
उपनिर्वाचनमा बडिगाड गाउँपालिका वडा नं. २ मा एक हजार सात सय ४२ मतदाता सहभागि हुने निर्वाचन कार्यालय बडिगाडले जनाएको छ। वडा अध्यक्ष विष्णु प्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएकोले निर्वाचन हुन लागेको हो । मनोनयनको समयमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा बागलुङ इन्चार्ज बलावती शर्मा, तथा नेपाली काग्रेसको तर्फवाट सांसद ज्ञानकुमारी छन्त्याल लगाएतको सहभागिता रहेको थियो।