जनता टाइम्स

२७ कार्तिक २०७६, बुधबार १८:४२

राष्ट्रपति भण्डारी र बंगलादेशका राष्ट्रपति हमिदबीच भेटवार्ता, आपसी हितका विषयमा भयो यस्तो कुराकानी


काठमाडौं, कात्तिक २७

राष्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेशका समकक्षी मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा भएको शिष्टाचार भेटवार्तामा आपसी हित र द्विपक्षिय सम्बन्धका विषयमा छलफल भएको छ ।

भेटमा उहाँहरूबीच विद्यमान पारस्परिक सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो ।
विगतदेखि नै नेपाल र बङ्गलादशेबीच मैत्री सम्बन्ध रहिआएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपाली जनता, नेपाल सरकार र आफ्नातर्फबाट नेपाल भ्रमण गर्नुभएकामा उहाँलाई धन्यवाद दिनुभयो ।

दुई देशबीच रहेको सम्बन्ध जनस्तरमा समेत विस्तार भएको छ भन्दै राष्ट्रपति भण्डारीले मैत्री सम्बन्ध थप विस्तार हुने बताउनुभयो ।

बङ्गलादेशका राष्ट्रपति हमिदले नेपाल भ्रमण गर्न पाएकामा प्रसन्नता प्रकट गर्दै आफ्नो देशको स्वतन्त्रता सङ्ग्राममा नेपालको तत्कालीन राजनीतिक नेतृत्वले गरेको नैतिक समर्थनको स्मरण गर्नुभयो । बङ्गलादेशलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने नेपाल सातौँ मुलुक भएको स्मरण गर्दै राष्ट्रपति हमिदले नेपालसँग आफ्नो देशको भावनात्मक सम्बन्ध रहेको बताउनुभयो ।

नेपाल भ्रमण गर्ने निम्ता दिनुभएकामा राष्ट्रपति भण्डारीको प्रशंसा गर्दै उहाँका बङ्गलादेशी समकक्षीले उच्चस्तरीय भ्रमणले सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ, राष्ट्रपति कार्यालयका सचिव र परराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थिति थियो । यस्तै बङ्गलादेशका उच्च अधिकारीको समेत सो अवसरमा सहभागिता थियो ।

यसअघि राष्ट्रपति हमिदसँग उपराष्ट्रपति नन्दबहादुर पुनले आज अपराह्न शिष्टाचार भेट गर्नुुभएको छ । त्यस अवसरमा उहाँहरूबीच नेपाल–बङ्गलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

आजै राष्ट्रपति हमिदसँग प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शिष्टाचार भेट गर्नुभयो । भेटमा उहाँहरूबीच विद्यमान पारस्परिक सम्बन्धका सबै पक्षबारे छलफल भएको थियो ।

दुई देशबीचको विद्यमान घनिष्ठ एवम् परम्परागत सम्बन्धलाई आर्थिक साझेदारीमा रुपान्तरण गर्ने विषयमा पनि उहाँहरूबीच गहन रुपमा विचार आदानप्रदान भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका विशिष्ट अतिथि नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणमा हुनुहन्छ ।