जनता टाइम्स

२८ कार्तिक २०७६, बिहीबार ०८:२०

युवा संघले टुंगो लगायो एकता प्रक्रिया, यी छानिए जिल्ला संयोजक र सहसंयोजक


काठमाडौं, कात्तिक २८

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले एकता प्रक्रिया टुंगो लगाएको छ । राष्ट्रिय युवा संघ नेपालको कात्तिक १६ गते बसेको कार्यदलको बैठकले देशभरका ७७ मध्ये ७५ जिल्लाका संयोजक र सहसंयोजकको नाम टुंगो लगाएको हो ।

७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमालेनिकट युवा संघले ४२ जिल्ला अध्यक्ष पाएको छ। त्यसैगरि माओवादी केन्द्रनिकट साविक योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ३५ जिल्लाको अध्यक्ष लिएको छ। त्यस्तै, वाईसीएलले ४२ जिल्लाको इञ्चार्ज र युवा संघले ३५ जिल्लाको इञ्चार्ज पाएको छ।

लमजुङ र दैलेखमा भने तत्कालका लागि संयोजक तोकिएको छैन । दुवै जिल्ला संयोजक साविक युवा संघको भागमा परेका थिए । संघले काठमाडौं संयोजकमा साविकको वाईसीएलका तर्फबाट शिशिर तामाङलाई तोकेको छ । त्यस्तै चितवन संयोजकको जिम्मेवारी साविकको वाईसीएलतर्फकै मोदनाथ न्यौपानेले पाएका छन् ।

ललितपुर संयोजकमा साविकको युवा संघ नेपालका गोविन्द थापा, मोरङ संयोजकको जिम्मेवारी साविकको युवा संघ नेपालका नीवन पौडेल र कैलाली संयोजक साविकको युवा संघ नेपालका राजु बम तोकिएका छन् । युवा संघले कात्तिक ३० गते केन्द्रीय समितिको बैठक र मंसिर १ मा राष्ट्रिय भेला बोलाउने पनि निर्णय यसअघि नै गरिसकेको छ।