जनता टाइम्स

२५ बैशाख २०७६, बुधबार १८:३४

पोलिटब्युरो, कार्यबिभाजन र जनसंगठन एकताको अन्तिम टुंगा लागेको अध्यक्ष प्रचण्डको खुलासा


काठमाडौं, बैशाख २५

नेपाल कम्युनिस्ट पाटी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्यबिभाजन र जनसंगठन एकताको अन्तिम टुंगोमा पुगेको खुलासा गर्नुभएको छ । अध्यक्ष प्रचण्डले अव केही दिनभित्रै एकताको सवै पाटो टुंगो लाग्ने जानकारी पनि दिनुभएको छ ।

‘एकताको सन्दर्भमा केही ढिलाई हुँदा के भयो भयो भन्ने होला तर आज मात्रै पनि हामी एक कदम अगाडि बढेका छौं । पोलिटब्युरो गठन, कार्यबिभाजन र जनसंगठनको एकताको अन्तिम टुंगो लगाएका छौं, अवको एक दुई दिनभित्रै पत्रकार साथीहरुले समाचारलेख्न पाउनु हुन्छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो । तत्कालीन नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य सीमा विकलाई आज पार्टी मुख्यालय धुम्बाहारीमा पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले बाँकी रहेका पार्टी एकताको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।

उहाँले एउटै कम्युनिष्ट पार्टी बनाएर मुलुकलाई समृद्धितर्फ लैजाने पार्टी लागिपरेको समेत बताउनुभयो । २०१९ सालबाट विभाजित कम्युनिष्ट दुई ठूला कम्युनिष्ट पार्टी एक भएपछि एकीकृत कम्युनिष्ट पार्टी बनेको उल्लेख गर्नुभयो । उहाँले नेकपामा प्रवेश गर्नेको लहर देशव्यापी रुपमा बढेको बताउनुभयो ।

‘पार्टीमा जोडिनका लागि थुप्रैसँग सम्पर्क भइरहेको छ । हामी पनि यही पार्टीमा जोडिन चाहन्छौँ भनेर देशभरबाट खबर आइरहेका छन,’ प्रचण्डले भन्नुभयो, ‘केही दिनमा ठूला, साना कम्युनिष्ट पार्टी नेकपामा जोडिन आउनेछन् । पार्टीलाई अझ पूर्णता बनाउने हो ।’ अध्यक्ष प्रचण्डले पार्टी एकता देखेर के गरेर बिथोल्न सकिन्छ र के गरेर नेताबीच कचिङ्गल गर्न सकिन्छ भनेर प्रयास भइरहेको भन्दै ती प्रतिक्रियावादीका भ्रमलाई परास्त गदै पार्टी एकतालाई अगाडि बढाइने जानकारी गराउनुभयो ।

उहाँले कम्युनिष्ट आन्दोलन मुलुकमा समाजवादको आधार निर्माण गर्ने कडीका रुपमा रहेको बताउनुभयो । उहाँले विगतको अनुभवको समीक्षासहित जनताको चाहना तथा उत्साह हुने गरी नीति तथा कार्यक्रममा समेटिएका कुरालाई आधार बनाएर बजेट बनाइने बताउनुभयो ।

कार्यक्रममा विकले नेकपाको सिद्धान्त विचारले नै मुलुकलाई सही दिशा दिने भएकाले प्रवेश गरेको बताउनुभयो । उहाँ जनमुक्ति पार्टीबाट दोस्रो संविधानसभा सदस्य रहनुभएको थियो । पार्टी प्रवेश कार्यक्रममा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल सहभागी हुनहुन्थ्यो ।