जनता टाइम्स

२५ बैशाख २०७६, बुधबार १९:३२

प्रहरीले सुरक्षासँगै विकास निर्माणको काममा अगाडि बढ्नुपर्ने अवस्था आएको छ : आइजीपी खनाल


काभ्रे, बैशाख २५

प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले नेपाल प्रहरीको काँधमा सुरक्षासँगसँगै विकासको कामलाई अगाडि बढाउनु पर्ने जिम्मेवारी आएको बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको धुलिखेलमा निर्माण भएको हिरासत कक्षसहितको ब्यारेक भवन, अगुवा प्रहरी अधिकृत आवास र भान्सा घरको आज उद्घाटन गर्दै खनालले विभिन्न अपराधको वर्गीकरण गरेर अपराधीका रुपमा भन्दा पनि उनीहरुलाई सामाजिकीकरण गर्दै सुधार गरेर अगाडि बढाउनुपर्ने बताउनुभयो । कारागारलाई सुधार केन्द्रका रुपमा विकास नगर्दा अपराधीले भित्रैबाट अखडा खडा गरी टेलिफोनमा धम्की दिएर विकास निर्माणका काममा असर पारेको खनालको भनाइ थियो । “प्रहरीले सुरक्षासँगै विकास निर्माणको काममा अगाडि बढ्नुपर्ने अवस्था आएको छ”, उहाँले भन्नुभयो ।

सङ्घीय संरचनाअनुसार प्रहरीले त्यही अनुसारका कार्यक्रम अगाडि सारिसकेको र अहिले प्रदेश सरकारले कार्यक्रम सञ्चालन गर्न तीन÷तीन लाख रकम पठाइसकेको खनालले बताउनुभयो । उहाँले स्थानीय सरकारसँग मिलेर शहरमा सिसिटिभी राख्ने काम शुरु भएको उल्लेख गर्दै त्यसले अपराध नियन्त्रण र अनुसन्धान गर्ने मात्रै नभई विकास निर्माणको काममा बाधक तत्वहरु के के छन् भनेर हेर्ने र कसले फोहर फाल्यो भन्नेसम्मको काम गर्ने भएकाले त्यस्तो काममा स्थानीय सरकार र प्रहरीसँगसँगै जानुपर्ने बताउनुभयो ।

विकास निर्माणको काम कुनै पनि कारणले (गलत तत्वहरु आएर थर्काए भन्ने कारणले) रोकिन नहुने महानिरीक्षक खनालको भनाइ थियो ।धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले अबको युगमा प्रहरी बाटोको चोकमा बस्ने नभई डिजिटल प्रविधिको प्रयोग गरी कन्ट्रोल रुमबाटै शान्तिसुरक्षा व्यवस्थापनको निरीक्षण गर्ने काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले प्रहरीले हिरासतमा राखिएकालाई पनि सुधार्ने, सीपयुक्त बनाउने र चेतनामा परिवर्तन ल्याउनेमा अगाडि बढ्नुपर्ने बताउनुभयो । नयाँ भवनको ६ कोठामा एक÷एक टेलिभिजन राख्न नगरपालिकाले सहयोग गर्ने उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय धुलिखेलको ब्यारेक भवन भूकम्पले भत्काएपछि सरकारको नियमित बजेट र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा पुनर्निर्माण गरिएको हो । रु ६ करोड ८४ लाख २० हजारको लागतमा पाँच भवन निर्माण गरिएको प्रहरी नायब निरीक्षक ईश्वर थापाले बताउनुभयो ।