जनता टाइम्स

२८ कार्तिक २०७६, बिहीबार १८:३०

अधूरा सपना पूरा गर्ने प्रतिबद्धता बोकेर चुनावी अभियानमा भट्टराई


पोखरा, २९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य सीता गिरीले कास्की–२ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार विद्या भट्टराईको उमेम्दवारीले राजनीतिमा महिलालाई थप ऊर्जा मिलेको बताउनुभएको छ । पोखरा–७ मा आयोजित चुनावी कार्यक्रममा गिरीले विद्या स्वर्गीय रवीन्द्र अधिकारीपत्नी मात्र नभई महिलानेत्री एवं प्राज्ञिक व्यक्तिसमेत रहेको हुँदा नेपाली राजनीतिमा उहाँको आगमनले महिलालाई थप ऊर्जा मिलेको बताउनुभएको हो ।

चुनावी प्रचारप्रसारको क्रममा बिहीबार पोखरा–७ का मतदाताहरु बीच उम्मेदवार भट्टराईले स्वर्गीय अधिकारीको अधूरा सपना पूरा गर्न आफू राजनीतिमा होमिएको बताउनुभयो । उहाँले आरोप प्रत्यारोपको राजनीतिबाट टाढा रहेर आफू स्वच्छ र पारदर्शी राजनीतिमा विश्वास गर्ने बताउनुभयो । आफूलाई मतदाताले गरेको विश्वास र आग्रहलाई स्वीकार्दै अधिकारीको अधूरा सपना पूरा गर्ने प्रतिबद्धता बोकेर चुनावी अभियानमा होमिएको बताउनुभयो ।

पोखरा चक्रपथ, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलगायत महत्वपूर्ण कार्य पूरा गरेरै छाड्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले समाजमा व्याप्त असमानताको अन्त्य गर्दै सुकुम्बासीलाई लालपुर्जा दिलाउने आफ्नो कार्यदिशा रहको बताउनुभयो । पोखरा–७ को विशेषगरी प्रगतिनगर र प्रगतिटोल सुकम्बासी बस्ती पर्दछ ।

पोखराको नयाँबजारस्थित ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयमा आशीर्वाद ग्रहण गर्दै चुनावी प्रचार कार्यक्रम पोखरा–७ अन्तर्गत बिहान प्रगतिनगर, प्रगतिटोल, राधाकृष्ण टोल, घारीपाटन र तीनकुनेलगायत क्षेत्रमा सम्पन्न भएको हो । घरघरबाट निस्केर मतदाताले फूलको गुच्छाले उम्मेदवार विद्याको स्वागत गरेका थिए ।

सो क्षेत्रमा उम्मेदवार विद्या पुग्दा ८६ वर्षीया कृष्णमाया पराजुलीले वडा नं. ७ र १५ जोड्ने पक्की पुल अधिकारीले शिलान्यास गरेको सम्झिँदै विकासमा जोड दिन आग्रह गर्नुभयो ।

पूर्वमन्त्री एवं नेकपा गण्डकी सह–इञ्चार्ज खगराज अधिकारीले सो क्षेत्र झपिन्द्र कार्की र ऋषि परियारले शहादत गरेको क्षेत्र रहेको स्मरण गर्दै शहीदको सपना पूरा गर्ने दिशामा नेकपा सधैँ अग्रपङ्क्तिमा रहेको बताउनुभयो ।
नेकपाका विभिन्न तहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको कार्यक्रममा साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।