जनता टाइम्स

२९ कार्तिक २०७६, शुक्रबार १०:११

कांग्रेसको मतबाट विजयी हुनुभएका डा. बाबुराम भट्टराई भन्नुहुन्छ – कांग्रेस नालायक हो


काठमाडौं, कात्तिक २९

समाजवादी पार्टीको पहिलो संघीय परिषद् बैठकमा अध्यक्ष बाबुराम भट्टराईले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन कांग्रेसलाई नालायकको टिप्पणी गर्नुभएको छ । १७ बुँदामा समेटिएको २५ पृष्ठ लामो प्रतिवेदनमा बाबुरामले विभिन्न राजनीतिक दलबारे पार्टीको धारणासमेत सार्वजनिक गर्दै कांग्रेसलाई नालायकको संज्ञा दिनु भएको हो ।

‘समाजवादी पार्टी निर्माण र आगामी कार्यभार’ शीर्षकको प्रतिवेदनमा बाबुरामले आफ्नो पार्टी असफल भए मुलुक नै असफल हुने उल्लेख गर्नुभएको छ । उहाले कांग्रेसका बारेमा भन्नुभएको छ, ‘कांग्रेसको शासनकालमा लाउडा, धमिजा, सुडानजस्ता ठूल्ठूला भ्रष्टाचार काण्डहरु भए । तर कहिल्लै विश्वासनीय छानबीन भएन । सुशासनको सवालमा यो पार्टीको प्रतिवद्वता व्यवहारमा देखिएन । आज कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीकोभारले थिचिएको छ ।’ स्मरण रहोस् भट्टराई प्रतिनिधिसभा निर्वाचनमा गोरखाबाट नेपाली कांग्रेसको मतबाट विजयी हुनु भएको थियो ।

यस्तो छ कांग्रेसप्रतिको बाबुरामको टिप्पणी

वैचारिक दृष्टिकोणले नेपाली काँग्रेस ‘उदार–लोकतान्त्रिक’ धारको नेतृत्व गर्ने दल हो । औपचारिक तवरले दस्तावेजमा ‘प्रजातान्त्रिक समाजवाद’ लेखे पनि २०४६ साल यताका उसका कुनै पनि व्यवहार र एजेण्डाले कांग्रेस समाजवादी दल भएको पुष्टि हुँदैन । २०४६ साल पछि कंग्रेस नेतृत्वमा सरकार बन्यो र उसले आफ्ना नीतिहरु पूँजीवादी बजार अर्थतन्त्र को पक्षमा लक्षित गर्दै गयो । सन्१९९० को नवउदारवादको विश्वव्यापी लहर ले कांग्रेसलाई ‘प्रजातान्त्रिक–समाजवाद’ को आवरणबाट बाहिरिन सहज बनाइदियो । यो धारसँग हाम्रो पार्टीको मिल्ने विषय भनेको दलीय स्वतन्त्रता र बहुदलीय व्यवस्था मात्र हो । अरु सबै कुरामा यो दलभन्दा हामी फरक छौं ।

यो पार्टी हिजो संवैधानिक राजतन्त्रको पक्षधर थियो । परिस्थितिवंश लतारिएर गणतन्त्रमा आयो । तर हामी सिद्धान्ततः नै गणतन्त्रवादी हौं । गणतन्त्रजस्तै यो पार्टी हिजो संघीयता र समावेशिताको विरुद्धमा थियो । अनिच्छावश मान्न बाध्य भयो । तर हामी वैचारिक प्रतिवद्धताकै हिसाबले संघीयता र समावेशिताको पक्षमा छौं । धर्मनिपेक्षता हाम्रो वैचारिक प्रतिबद्धता हो । कांग्रेसका कैयौं नेताहरु अहिले पनि यसलाई उल्टाउन सार्वजनिक रुपमा जनमत निर्माण गर्दै हिडेकाछन् ।

यो पार्टीले संसदीय लोकतन्त्रलाई आफ्नो अडान बनाएको छ । संविधानसभाले संविधान बनाउँदा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको व्यवस्था हुन नसक्नुको कारण कांग्रेसको यो अडान पनि थियो । यो पार्टी उत्पीडित जनसमुदायको मुक्ति, पहिचान र अधिकारको विपक्षमा छ । संघीयताको सही मोडेल निर्धारण हुन नसक्नुमा कांग्रेसको ठूलो हात छ । कांग्रेस सहभागितामुलक, समावेशी समानुपातिक लोकतन्त्रको विरुद्धमा उभिने गरेको छ । यो पार्टीको सरकारले नै नेपालमा निरपेक्ष निजीकरण र उदारीकरण शुरुवात गरेको थियो । राष्ट्रिय उद्योगधन्दाहरु समाप्त गर्ने, कृषि अनुदान कटौती गने, कृषिप्रधान देशलाई कृषि वस्तुमै परनिर्भर र आयातकर्ता बनाउँने, श्रम निर्यात गर्ने बाँकी सबै वस्तुहरु विदेशबाट आयात गर्ने, देशलाई निरन्तर व्यापारघाटामा पार्ने, शिक्षा र स्वास्थ्यको अतिव्यापारीकरण तथा माफियाकरण गर्ने, भूव्यवस्थाको व्यापारीकरणमार्फत्अव्यवस्थित शहरीकरण र शहरी सुकुम्बासी समस्या सृजना गर्ने, नियमक संस्थाहरुको भूमिका कमजोर पार्ने, जताततै मूल्य कार्टेलिब र सिन्डिकेटलाई प्रश्रय दिने, ठेक्कापट्टा र राजकीय स्रोतहरुमा निश्चित वृतलाई मात्र पोस्ने र कमिसनतन्त्रलाई बढावा दिनेजस्ता प्रवृतिहरु कांग्रेसलेसंस्थागत गरेको हो ।

कांग्रेसको शासनकालमा लाउडा, धमिजा, सुडानजस्ता ठूल्ठूला भ्रष्टाचार काण्डहरु भए । तर कहिल्लै विश्वासनीय छानबीन भएन । सुशासनको सवालमा यो पार्टीको प्रतिवद्वता व्यवहारमा देखिएन । आज कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीकोभारले थिचिएको छ । प्रमुख प्रतिपक्षको भूमिका समेत राम्ररी निभाउन नसक्ने गरी थबथिलो भएको छ । तथापि यो पार्टीको देशभरि फैलिएको संगठन र परम्परागत जनमत छ । बैकल्पिक लोकतान्त्रिक तथा समाजवादी दलको अभावमा राजावादी र साम्यवादी लाई भोट दिन नचाहने जनमतले यो पार्टीलाई भोट दिदै आएको छ । हाम्रो पार्टीले यो जनमतमाथि उल्लेखनीय हस्तक्षेप गर्नु पर्दछ । वैकल्पिक लोकतान्त्रिक शक्तिको उदय भइसकेको सन्देश दिनु पर्दछ ।