जनता टाइम्स

२९ कार्तिक २०७६, शुक्रबार १५:२८

पौने दुई करोडको गाडी २२ लाखमा बेच्न लाग्दा..


काठमाडौं, कात्तिक २९ । चोरीको गाडीसहित दुई जना अभियुक्त पक्राउ परेका छन । महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले बिहीवार राती उपत्यकाको विभिन्न स्थानबाट चारवटा चोरीको गाडीसहित दुई जनालाई पक्राउ गरेको हो ।

कालिमाटी वृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुगम कुँवरका अनुसार भारतबाट चोरी गरेर ल्याइएको गाडीसहित काठमाडौं तारकेश्वर नगरपालिकास्थित गोलढुङ्गा बस्ने गोरखाका मुकुन्दप्रसाद पुडासैनी र सुर्खेतका दीपक बुढा पक्राउ परेका छन । उनीहरुको साथबाट बा २१ च ८७१४ नम्बरको एस–७ स्कार्पियो, बा १८ च ३१३८ नम्बरको एस–४ स्कार्पियो, DL2CAZ ७७९९ नम्बरको क्रेटा कार तथा बा ११ च ९७९४ नम्बरको टोयटाको फर्चुनर निजी कार बरामद गरिएको डिएसपी कुँवरले बताउनु भयो ।

उहाँका अनुसार पक्राउ परेको दुवै अभियुक्तले काठमाडौँ नयाँबजारस्थित आदित्य ट्रान्सपोर्ट सञ्चालन गर्दै आएको अनुसन्धानमा खुलेको छ । उक्त ट्रान्सपोर्टले चोरीको गाडी प्रयोग गर्ने गरेको भन्ने सूचनाको आधारमा कालिमाटीबाट खटिएको टोलीले गएराति गाडीसहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई थप कारवाहीका लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका पुडासैनी र बुढाले टोयटाको फर्चुनर गाडी २२ लाखमा बेच्न लागेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । टोयटाको फर्चुनर गाडीको नेपाली मूल्य १ करोड ६३ लाख रहेको छ ।

मध्यराती कलङ्की चोकमा उनीहरुले भारतबाट चोरी गरेर ल्याइएको गाडीहरु बेच्न लागेको डीएसपी कुँवरको भनाइ छ । ‘चोरीको गाडी सस्तोमा बेच्न लागेको सूचना पाएलगत्तै खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो,’ डीएसपी कुँवरले भन्नुभयो । यस्तै उनीहरुले बा२१च ८७१४ नम्बरको एस–७ स्कार्पियो गाडी १५ लाख, बा १८च ३१३८ नम्बरको एस–४ स्कार्पियो गाडी ११ लाख र क्रेटा कार १३ लाख ५० हजारमा बेच्न लागेका थिए । बा २१ च ८७१४ नम्बरको एस–७ स्कार्पियो गाडीको नेपाली बजार मूल्य ६५ लाख, क्रेटा कारको ५९ लाख र बा१८च ३१३८ नम्बरको एस–४ स्कार्पियो ५० लाख पर्छ ।