जनता टाइम्स

२९ कार्तिक २०७६, शुक्रबार २२:१५

प्रधानमन्त्रीका दुई सल्लाहकार नियुक्त, प्रेसमा सूर्य थापा


काठमाडौं, कात्तिक २९ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा नेकपाका केन्द्रीय सदस्य सूर्य थापा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले थापालाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त गरेको हो ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारमा प्रधानमन्त्रीका प्रेस सल्लाहकारका रुपमा कुसलतापुर्वक कार्यसम्पादन गर्नुभएका थापालाई प्रधानमन्त्री ओलीले पनि स्थान दिनुभएको हो । केही दिनअघि प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालको राजीनामा स्वीकृत भएको थियो । अर्यालको राजीनामा स्वीकृत भएसँगै पत्रकारितामा लामो समय बिताउनु भएको नेकपाका नेता थापालाई नियुक्त गरिएको हो ।

प्यूठान निवासी थापाले तात्कालिन प्रधानमन्त्री झलनाथ खनालको प्रेस सल्लाहकार रहँदा अत्यन्तै राम्रो काम गर्नुभएको थियो । थापा नेकपाको प्रचार बिभाग उपप्रमुख हुनहुन्छ । यसअघि तात्कालिन एमालेको प्रचार तथा प्रकाशन बिभागको उपप्रमुख तथा प्रेस चौतारी नेपालका सहइञ्चार्ज हुनुहुन्थ्यो । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्यसमेत रहनुभएका थापा नवयुग, बुधबार साप्ताहिकको पूर्वसम्पादकसमेत हुनुहुन्छ । थापाका विभिन्न पुस्तकसमेत प्रकाशित छन् । यसैगरी आर्थिक सल्लहकारमा पूर्वसचिव लालशंकर घिमिरे नियुक्त हुनुभएको छ । यसैगरी बिकाश बिज्ञमा गजेन्द्र थपलिया नियुक्त हुनुभएको छ ।