जनता टाइम्स

३० कार्तिक २०७६, शनिबार १४:२५

‘दुबई एयर–शो’मा सहभागी हुन उपप्रम पोखरेल युएई प्रस्थान


काठमाडौं, कात्तिक ३० । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल युएई सरकारको प्रधानमन्त्री तथा रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । दुबईमा उहाँले द्विपक्षीय उच्चस्तरीय छलफल तथा भेटघाट गर्नुका साथै ‘दुबई एयर–शो’मा सहभागी हुने कार्यक्रम रहेको छ ।

‘एअर–शो’को पहिलो दिन आइतबार हुने उदघाटन समारोह तथा मुख्य प्रदर्शनीमा उपप्रधानमन्त्री पोखरेलले आतिथ्यता गर्नुहुनेछ । त्यस्तै, उहाँले त्यहाँका शेख, राजकुमार, दुबई व्यापारिक समाजका नेतृत्व तथा यूएई सरकारका उच्च अधिकारीहरुसँग भेटघाट तथा विभिन्न पक्षसँग छलफल गर्नुहुने कार्यक्रम तय भएको छ । नेपाल सरकारले आर्थिक समृद्धिका निम्ती बढी भन्दा बढी लगानी भित्र्याउने उदघोष गरिरहँदा उपप्रम पाखरेलले नेपाली समुदाय तथा विदेशी लगानीकर्तासँग औपचारिक छलफल गर्नुहुने छ ।

नेपाली दूतावास आबुधाबी र नेपाली बिजनेस काउन्सिल दुबईको संयुक्त आयोजनामा सोमबार साँझ नेपाली तथा विभिन्न देशका ब्यवसायी एवं लगानीकर्ताहरुसँग ‘नेपालमा लगानीका सम्भावना’ सम्बन्धमा उपप्रधानमन्त्री पोखरेलले दुबई च्याम्बर अफ् कमर्सका उच्च अधिकारीसँग भेटघाट तथा विशेष छलफल गर्नुहुने कार्यक्रम छ । सन् १९८६ देखि युएईले ‘दुबई एअर शो’ को आयोजनागर्दै आएको छ । विभिन्न देशहरुले एअर शोलाई शक्ति प्रदर्शनको रुपमा समेत लिने गरेका छन् । उक्त आयोजनामा नेपाल पहिलो पटक उच्च स्तरीय नेतृत्वसहित सहभागी हुन लागेको हो ।

भ्रमण टोलीमा नेपाली सेनाका पूर्वी पृतना हेडक्वार्टरका पृतनापति उपरथी अनन्त कार्की, परराष्ट्र मन्त्रालयको मध्य तथा पश्चिम एशिया र अफ्रिका महाशाखाका सहसचिव हरिश्चन्द्र घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्रीका स्वकीय सह सचिव दीपेन्द्र श्रेष्ठ सहभागी हुनुहुन्छ । उहाँहरुलाई रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे र नेपाली सेनाका वलाध्यक्ष रथी गौरव तण्डुल लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा विदाई गर्नुभएको थियो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेल मंसिर ४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।