जनता टाइम्स

३० कार्तिक २०७६, शनिबार १७:१६

भ्रमण वर्षमा नयाँ हिमाल आरोहणका लागि खुल्ला गर्ने पर्यटनमन्त्री भट्टराईको घोषणा


चितवन, कात्तिक ३० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्षको शुरुआतमा नयाँ हिमाल आरोहणका लागि खुला गरिने बताउनुभएको छ । भरतपुर बिमानस्थलमा आज पत्रकारहरुसँंग कुरा गर्दै मन्त्री भट्टराईले अहिलेसम्म आरोहणका लागि नखोलिएका हिमाल खुला गर्ने तयारी गरिएको बताउनुभयो ।

भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै सरकारले आफ्ना मातहतका निकायलाई तयारी शुरु गर्न निर्देशन दिएको जानकारी गराउँदै उहाँले भन्नुभयो, “भ्रमण वर्षको तयारी तीव्र पारिएको छ, देशभित्र र बाहिर सबैतिर तयारीका लागि पत्राचारसमेत गरिसकिएको छ ।” चालीस देशमा रहेका दूतावासमार्फत भ्रमण वर्षको प्रचार–प्रसारको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

भ्रमण वर्षका अवसरमा पर्यटकीय क्षेत्रमा सरसफाइ गर्ने, व्यवसायीबाट आकर्षक कार्यक्रम घोषणा गर्ने, पाहुनाको सत्कारका लागि जागरण पैदा गर्नेलगायतका काम भइरहेका उहाँले बताउनुभयो । हिमाल आरोहणका लागि आउने पर्यटकका लागि सरकारले बीमा अनिवार्य गराउने, उद्धारका लागि सहज बनाउने, पथप्रदर्शक अनिवार्य लिएर हिँड्नुपर्नेजस्ता नियम बनाएको उहाँले जानकारी दिनुभयो ।

सन् २०२० को जनवरीमा सात प्रदेश र केन्द्रमा भव्यरूपमा कार्यक्रमको उद्घाटन हुने र विदेशमा रहेका दूतावासमा जनवरी ७ तारिखमा शुभारम्भ गर्ने तयारीका साथ सरकार अघि बढेको मन्त्री भट्टराईले जानकारी दिनुभयो । फरक प्रसङ्गमा बोल्दै मन्त्री भट्टराईले भरतपुर विमानस्थलको स्तरोन्नतिका लागि प्रक्रिया अघि बढेको बताउनुभयो । विमानस्थलको स्तरोन्नतिका लागि मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा समिति गठन गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

नेपाली सेना, विमानस्थल, भरतपुर महानगरपालिका र सरोकारवालाको सहभागितामा गठित समितिले यस विषयमा छलफल गरिरहेको उहाँको भनाइ थियो । नेपाली सेनालाई वैकल्पिक स्थानको प्रबन्ध भएसँगै प्रक्रिया शुरु हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सेना तयार छ, उचित स्थान तय भएसँगै उहाँहरु सर्नुहुन्छ, अनि काम शुरु हुन्छ ।”

भरतपुर विमानस्थलसँगैको सेनाको ब्यारेक स्थानान्तरण गरेर विमानस्थलको स्तरोन्नति गर्ने विषयमा छलफल चलिरहेको छ । विमानस्थलको स्तरोन्नतिसँगै यस क्षेत्रमा बनेका संरचना मापदण्डमा झारिने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “बन्दै गरेका संरचना मादण्डअनुसार बन्नुपर्यो, बनिसकेकाको पुनःसंरचना हुनुपर्यो ।”