जनता टाइम्स

३ मंसिर २०७६, मंगलवार १५:२३

प्रेमराजा महतको राष्ट्रभक्ति गीत ‘आयो नेपाली’ सर्वत्र बजारमा (भिडियोसहित)


काठमाडौं, मंसिर ३

चर्चित लोकगायक प्रेमराजा महतको नयाँ गीत बजारमा आएको छ । मंगलबार सार्वजनिक भएको ‘आयो नेपाली’ बोलको गीतको भिडियो उहाँले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गर्नुभएको हो । गायक महतको सुमधुर स्वरमा सजिएको गीत नेपाली सेनाप्रति समर्पित रहेको यस गीत सबैको मन छुने छ । उहाँले गीतमा आफुहरु जहाँ गए पनि आफ्नै जन्मभुमी प्यारो लाग्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘अहिले देश दुखेका बेला मैले नेपाली मन मनको भावना जगाउनका लागि यो भिडियो बाहिर ल्याएको छु ।’ शब्द, संगीत आफ्नै रहेको गीतको भिडियोमा पनि गायक महत आफै देखिनुभएको छ । गीतको एरेन्ज भने बिबि अनुरागीले गर्नुभएको हो । त्यस्तै भिडियोको सम्पादन मिनराज अर्यालले गर्नुभएको हो ।

मुलुकमा कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतले मिचेको विरुद्धमा मुलुकमा आन्दोलन, बहस र कुटनीतिक पहल भइरहेका बेला गायक प्रेमराजा महत राष्ट्रिय गीत बोकेर नेपाल आउनुभएको हो । त्यस्तै केही दिनमै ‘लाम माया छपक्कै’ बोलको गीत सार्वजनिक गर्ने तयारी रहनुभएका महत उक्त गीतको सुटिङमा व्यस्त रहनुभएको छ । काठमाडौंको एभियसन म्युजियम लगायतका ठाउँमा उक्त गीतको भिडियो सुटिङ भइरहेको उहाँले बताउनुभयो ।

को हुन् ? प्रेमराजा महत

प्रेमराजा महत तनहुँको ढोरफिर्कीमा जन्मिएका हुन् । नेपाली लोकसंगीतको कुरा गर्दा महतको नाम अग्रपंक्तिमा आउँछ। चार दशकदेखि नेपाली लोकसंगीतको जगेर्ना गर्न लागिपरेका महत अमेरिकाका पीआर होल्डर समेत हुन् । उहाँ त्यही बसेर विदेशीमाझ नेपाली संगीत चिनाउने प्रयत्न गरिरहनुभएको छ । नेपाली सारंगी अमेरिका पुर्याउन प्रेरित गर्नुभएको महतले अमेरिकी विश्वविद्यालयमा नेपाली लोकसंगीत समेत पढाउनुहुन्छ ।

त्यस्तै अमेरिकामा नै नेपाली लोकगीतको कन्सर्ट गुञ्जाउँन पनि पछि पर्दैनन् । त्यस्तै उहाँले कहिले अमेरिकी मेयर तथा नेताको टोलीलाई नेपाल घुम्न पठाउँनेदेखि लिएर अमेरिकी सञ्चारमाध्यममा लोकगीतकै खुल्ला बहस गराउँने समेत काम गर्दै आउनुभएको छ । उहाँका अनुसार नेपाली भाषा नबुझ्ने विदेशीहरूले आफ्ना गीतमा झुमेर नाच्दा खुसी लाग्छ । २०५३ सालमा अमेरिका जानुभएका महत हाल पनि लोकगायनमै सक्रिय हुनुहुन्छ ।

केही दिनअघि मात्रै नेपालको कालापानी भारतको नक्सामा परेको खबर सुन्नासाथ नेपाललाई जोगाउनुपर्छ भनेर उहाँ नेपाल आइपुग्नु भएको छ । उहाँले आफू गायक भएकै कारणले गीतबाटै नेपालको रक्षा गर्ने योजना बनाएको बताउनुभयो । उहाँले देशमा परिवर्तन ल्याउन कलाकारले सधैं साथ दिँदै आएका भन्दै कलाकारलाई यस पटक पनि सबै कलाकारले सहयोग गर्नुपर्ने बताउनुभयो । गायक महतले गीतसंगीतकै माध्यमबाट नेपालीलाई जुट्न आग्रह गर्दै ‘आयो नेपाली’ सार्वजनिक गर्नुभएको हो ।

गाउँमै एसएलसी पास भएपछि पढ्नकै लागि काठमाडौं आउनुभएका महतले नेपालको सांस्कृतिक विभागमा रहेर काम गर्नुभएको थियो । सिमसिमे पानीमा, हिँउचुलीमा हिउँ, पानको पात, बाँझोखेतमा जस्ता चर्चित गीत समेत उहाँले बजारमा ल्याइसक्नुभएको छ । उहाँका यी गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन्। रेडियो नेपालबाट बज्ने यी गीत सुनेर उहाँलाई देशभरका संगीत पारखीले पत्र पठाउँथे। कतिपय स्रोता लगायत साथीभाई इष्टमित्र काठमाडौं आउँदा रेडियो नेपालको कार्यालयमा नै भेट्न पुग्ने गरेको उहाँले स्मरण गर्नुभयो ।

त्यस्तै नेपाल टेलिभिजनको स्थापनापछि लोकलहरी कार्यक्रममार्फत दर्शकसँग प्रत्यक्ष जोडिने मौका समेत पाउनुभएको थियो । सात वर्षदेखि उहाँ अमेरिकाका लागि नेपाल सरकारका तर्फबाट महावाणिज्य दूतको रुपमा काम गर्दै आउनुभएको छ । नेपालको संस्कृति, पहिचान र पर्यटनको क्षेत्रमा काम गर्दै आउनुभएको छ । उहाँले अमेरिकामा नेपाल हाउस नामक रेस्टुरेन्ट सञ्चालन गरेर अमेरिकामा रहेका नेपालीलाई आतिथ्य समेत पस्किँदै आउनुभएको छ । त्यस्तै अमेरिकामा दुःख पाएका नेपालीलाई पनि सहयोग गर्दै आउनुभएको छ ।