जनता टाइम्स

४ मंसिर २०७६, बुधबार १३:०७

पुनःनिर्माण प्राधिकरणमा धाएको चार वर्षसम्म सम्झौता भएन गुम्बा पुनःनिर्माण


बनेपा, मंसिर ४

खानीखोला गाउँपालिका–६ का आसमान थोकरले गुम्बाको पुनःनिर्माणको कामबारे बुझन पुनःनिर्माण प्राधिकरणमा धाएको चार वर्षभयो । खानीखोला गाउँपालिका–६ का शुभशक्ति मङ्गल गुम्बा व्यवस्थापन समितिका सदस्य थोकर भूकम्प गएको चार वर्ष वितिसक्दा पनि रकम नपरेको भन्दै पटक–पटक पुनःनिर्माण प्राधिकरण धाउँदै आउनुभएको छ ।

“बल्ल गुम्बा पुनःनिर्माणको लागि रकम आउने भयो भन्ने कुरा भएको छ, हेरौं कहिलेसम्ममा प्राप्त हुन्छ ?” थोकरले भन्नुभयो । विसं २०७२ मा गएको भूकम्पले सो गुम्बाको भवन पूरै चर्केको छ । ‘बुद्धको मूर्तिमा भने कुनै क्षति भएको छैन ।’ थोकरले भन्नुभयो, “भवन मात्रै पुनःनिर्माण गर्न पाएपनि सार्दाखेरी केही टुटफुट भएमा त्यसको मर्मत गर्नुपर्छ, होइन भने सबै व्यवस्थित नै छ ।”

रोशी गाउँपालिका–१० बाल्टिङका कर्म धुक थर्पेलिङ गुम्बाका प्रमुख लामा कर्म सिं लामाले बल्ल गुम्बा बनाउनका लागि प्रक्रिया अगाडि बढेको बताउनुभयो । पटक÷पटकको प्रयत्नपछि बल्ल काम हुने भन्ने खालको कुरा आएपछि आवश्यक प्रक्रिया पूरा गरी तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो ।

ती गुम्बा नमूना मात्रै हुन्, काभ्रेपलाञ्चोक जिल्लामा २०७२ सालको भूकम्पले क्षति पुगेको गुम्बा पुनःनिर्माणको काम अझै शुरु भएको छैन । दातृ निकायबाट प्रदान गर्ने भनिएको सहयोग बेलैमा प्राप्त नहुँदा गुम्बा पुनःनिर्माणको काम प्रभावित भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) काभ्रेपलाञ्चोकका प्रमुख सागर आचार्यले माथिबाट अख्तियारी आइसकेकोले अव छिट्टै निर्माण प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।

गुम्बा पुनःनिर्माणको लागि एक्जिम बैंङ भारत सरकारले सहयोग गर्ने भएको र त्यसमा प्रक्रिया ढिला भएकाले काम अगाडि नबढेको आचार्यको भनाइ छ । ‘अहिले मर्मतको काममा नेपाल सरकारले नै गर्ने र पुनःनिर्माणको काम भारत सरकारले गर्ने कुरा भएपछि त्यसको लागि अब प्रक्रिया अगाडि बढिसकेको छ ।’ उहाँले भन्नुभयो, “गुम्बा पुनःनिर्माणको काम धमाधम सम्झौता गर्छौं ।”

जिल्लामा गुम्बा पुनःनिर्माणको लागि पाँच वटा समूहमा वर्गिकरण गरी ११२ वटा गुम्बा लाभग्राहीको सूचीमा सूचीकृत भएका छन् । जसमध्ये १ गे्रडमा २० वटा, २ ग्रेडमा १३ वटा, ३ ग्रेडमा १५ वटा, ४ ग्रेडमा १६ वटा र ५ ग्रेडमा ४८ वटा गुम्बा परेका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख सागर आचार्यले ग्रेड १ देखि ३ सम्मको गुम्बा मर्मतमा मात्रै पर्ने र ग्रेड ४ र ५ को मात्रै पुनःर्निर्माणमा पर्ने बताउनुभयो ।

त्यसरी आएका गुम्बाहरुले १ ग्रेडको ३ लाख, २ ग्रेडको लागि एक तलाको भए ५ लाख र दूई तलाको भए दश लाख तथा ३ गे्रेडकोलाई एक तलाको लागि दश लाख र दूई तलाभन्दा बढी भएमा २५ लाखसम्मको अनुदान पाउने ब्यवस्था रहेको कार्यालयले जनाएको छ । ४ र ५ ग्रेडको गुम्बाहरुको हकमा भने कस्तो प्रकृतिको बनाउने र कतिको बनाउने भन्ने निश्चित गरेर जति पनि लागतको बनाउन सकिने तर त्यसको लागि सम्बन्धित गुम्बा र प्राधिकरणले पचास÷पचास प्रतिशत लागत ब्यहोर्ने गरी पुनःनिर्माण गर्न सकिने उहाँले बताउनुभयो ।

लामो समयपछि बल्ल पुनःनिर्माण र मर्मतका लागि काम गर्नुपर्ने गुम्बाको सङ्ख्या सूचीकृत भएपछि असारको अन्तिम सातामा मात्रै रकम विनियोजन गरी पठाएकोले काम शुरु नै गर्न नपाई प्राप्त रकम फ्रिज गएको थियो ।

जिल्लामा भएका गुम्बामध्ये कतिपयले बेलैमा नै सम्बन्धित निकायले पुनःनिर्माणको लागि चासो नगरेको भन्दै गुम्बा व्यवस्थापन समिति आफैले नै पुनःनिर्माण गरिसकेका छन् ।