जनता टाइम्स

६ मंसिर २०७६, शुक्रबार २०:४५

कांग्रेसले बिथोल्यो मुस्लिम समुदायको नमाज, पूर्वगृहमन्त्री सिटौला र मेयरका उम्मेद्वार नै बने भिलेन


धरान, मंसिर ६ । पुर्वगृहमन्त्री कृष्ण सिटौलासहित चुनावी प्रचारमा पुगेको नेपाली कांग्रेसको अराजक गतिविधिले शुक्रबार (आज) धरान ३ स्थित जामे मस्जिदमा मुस्लिम समुदायको नमाज (धार्मिक प्रार्थना) बिथोलिएको छ । नवाजकै बेलामा नेपाली कांग्रेस जिन्दावाद भन्दै पुगेको अराजक समुहको नारावाजीले नवाज नै बिथोलिएको हो ।

यो घटनाले मुस्लिम समुदाय आक्रोशित बनेका छन् भने मुस्लिमको साझा संस्था अन्जुमन इस्लामियाले घटनाप्रति खेद व्यक्त गरेको छ । जामे मस्जिदमा हरेक शुक्रबार दिउँसो १ बजेदेखि साढे १ बजेसम्म नमाज (धार्मिक प्रार्थना) हुने गर्छ । नमाज एकदमै शान्त वातावरणमा हुनुपर्छ । त्यसबेला कोही पनि मञ्जिदभित्र प्रवेश गर्न र बाहिर निस्कन पनि मिल्दैन । तर, आज शुक्रबार नमाज सकिन लाग्दा दिउँसो कबिर १ बजेर २५ मिनेटमा कांग्रेसका नेता सिटौलासहितको समुह एक्कासी मञ्जिदको मुल प्रवेशद्वारमा पुगेर कोलाहल मच्चायो, जसले नमाजलाई गम्भीर असर पुग्यो ।

चुनाव प्रचारमा आएको कांग्रेसका नेता, कार्यकर्ताहरुले माइकिङ गरेपछि नमाज विथोलिएको होे । समुहको प्राथना सकिएर व्यक्तिगत प्राथना चलिरहदा कांग्रेस नेता सिटौलासहितको समुहले माइकको स्पिकर मञ्जिदभित्र फर्काएर माइकिङसहित नाराबाजी गरेका थिए । कांग्रेस उम्मेदवार तिलक राई धार्मिक आस्था तथा अनुशासन उल्लंघन गर्दै मञ्जिद भित्रै भोट माग्न छिर्नुभएको थियो । कांग्रेसको यो अराजक गतिविधिले मञ्जिदमा केही समय आतंकित तुल्यायो । यस्तो घटना मस्जिदमा पहिलो पटक भएको मुस्लिम अगुवाहरुको भनाई छ ।

‘मस्जिदभित्रै तिलक राई प्रवेश गरे । नमाजको बेला कोही भित्र जादैनन्, र भित्रको मान्छे बाहिर पनि निस्कन मिल्दैन, यो अनुशासन कायम हुनुपर्छ,’ एक मुस्लिम अगुवाले जनताटाइम्ससँग भने, ‘यो घटनाले सम्पुर्ण मुस्लिम समुदायको भावनामा चोट पुर्याएको छ ।’ कांग्रेसको गतिविधिले नमाजमा अवरोध भएको र धार्मिक अनुष्ठानमा खलल पुगेको भन्दै अन्जुमन इस्लामिया धरानले प्रेश विज्ञप्ती जारी गर्दै खेद व्यक्त गरेको छ । अध्यक्ष युसुफ अलि र सचिव अफाक अहमदले जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘मस्जिदको गेटमा चुनाव प्रचारको नाममा नाराबाजी र माइकिङको माध्यमबाट नमाज(ध्यान) अवरोध भएको साथै एक धार्मिकस्थलको धार्मिक अनुष्ठानमा खलल हुने गरी गरिएको यस्तो कार्यप्रति अन्जुमन इस्लामिया खेद व्यक्त गर्दछ ।’

इस्लामियाले आउदा दिनहरुमा यस्तो क्रियाकलाप नगर्न पनि सम्पुर्ण दलहरुलाई अनुरोध गरेको छ । ‘नमाज हाम्रो अत्यन्त महत्वपुर्ण धार्मिक अनुष्ठान हो, आज कांग्रेसको गतिविधिले त्यसमा व्यवधान खडा भयो । यसले अत्यन्तै दुःखित तुल्याएको छ,’ सचिव अहमदले भन्नुभयो, ‘मत माग्नु अधिकारको कुरा हो, तर मञ्जिद भित्रको वातावरण, संवेदनशिलता र अनुशासनको पनि हेक्का हुनुपर्छ । कांग्रेसले गरेको गल्ती अरु राजनीतिक दलबाट नदोहोरियोस् ।’

इस्लामियाका अनुसार शुक्रबार अल नेपाल मुस्लिम संगठनले नेकपाका उम्मेदवार प्रकाश राईलाई मञ्जिदमा ल्याएर परिचय गराउने पुर्वअनुमति लिएको थियो । इस्लामियाले नमाजको शान्त वातावरण तथा अनुशासनलाई असर नपर्ने गरी उम्मेदवारलाई ल्याएर परिचय गराउन अनुमति दिएको थियो । अञ्जुमन इस्लामियाको पुर्वस्वीकृति लिएर नेकपाले उम्मेदवार राईलाई शुक्रबार दिउँसो मञ्जिद अघि लगेर परिचय गराउदै थियो ।

नेकपाका उम्मेदवार राई मञ्जिदको गेटदेखि पनि करिब ५० मिटर दुरीमा उभिएर मुस्लिम समुदायसँग परिचय गर्ने काम गरिरहेका थिए । सोही क्रममा एक्कासी नेता सिटौलासहित आएका कांग्रेसका नेता, कार्यकर्ताहरुले भने मञ्जिदको मुलगेट नै कब्जा गरेर होहल्ला गरेका हुन् । इस्लामियका अनुसार कांग्रेसले आफ्ना उम्मेदवार परिचय गराउन ल्याउने बारे पुर्व जानकारी वा स्वीकृति पनि लिएको थिएन । ‘नेकपाका नेता, कार्यकर्ताहरु संयमित भएकोले गर्दा अप्रिय दुर्घटना हुन पाएन,’ एक प्रत्यक्षदर्शी मुस्लिम अगुवाले भने ।