जनता टाइम्स

७ मंसिर २०७६, शनिबार ०७:१२

अनु मलिकलाई इन्डियन आइडलबाट निकालिनुको रहस्य यस्तो


 

काठमाडौं, मंसिर ७ ।भारतीय संगितकार अनु मलिकलाई रियालीटी शो ‘इन्डियन आइडल’बाट निकालिएको छ । उनलाई यौन शोषण गरेको आरोप लागेको कारण शोबाट निकालिएको हो ।

बिहीबार गायिका सोना महापात्राले महिला तथा बालबालिका विकास मन्त्री स्मृति ईरानीलाई खुल्ला पत्र लेखेर अनु मलिकको यौन शोषणको विषयमा आवाज उठाउन आग्रह गरेकी थिइन् । त्यसपछि राष्ट्रिय महिला आयोगले उक्त विषयमा चासो देखाएको थियो । आयोगले सोनी टेलिभिजनसँग स्पष्टिकरण मागेको थियो ।

आयोगले सोनी इन्टरटेनमेन्ट टेलिभिजनका अध्यक्ष रोहित गुप्तालाई सूचना जारी गर्दै मलिकलाई शोबाट निकाल्न आग्रह गरेको थियो ।

गायिका सोनाले महिला तथा बालबालिका विकास मन्त्री ईरानीलाई सानी टेलिभिजनमाथि प्रश्न उठाउँदै खुल्ला पत्रमा लेखेकी थिइन, ‘ती संस्थाको के, जसले यस्ता आरोपीलाई काम गर्न दिन्छन् । यसमध्ये सोनी टेलिभिजन पनि एक हो । जसले थुप्रै महिलाहरुले लगाएको आरोपको वेवास्ता गर्दै अनु मलिकलाई अनुबन्ध गर्छ । यसमाथि तिनै व्यक्तिलाई ‘इन्डियन आइडल’को निर्णायक बनाइदियो ।’