जनता टाइम्स

९ मंसिर २०७६, सोमबार ०८:४४

घरमै बसीबसी अनलाइनबाटै अब श्रम स्वीकृति


काठमाडौँ, मङ्सिर ९

वैदेशिक रोजगार विभागले आउँदो मङ्सिर १५ गते वा आउँदो आइतबारदेखि ई–टोकन अर्थात् विद्युतीय पालो प्रणाली र मेसेजिङ सेवा सुरु गर्ने तयारी गरेको छ । गएको सातादेखि ई–स्टिकर कार्यान्वयनमा ल्याएको विभागले १५ गतेदेखि उक्त प्रणाली सुरु गर्न लागेको हो ।

वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यका साथ विभागले विद्युतीय प्रणाली कार्यान्वयनमा ल्याउन लागेको जनाएको छ । विभागका महानिर्देशक भीष्मकुमार भुसालले वैदेशिक रोजगारीमा जान चाहने युवाको प्रक्रियागत कामलाई सरल र व्यवस्थित गराउने उद्देश्यले विद्युतीय पालो प्रणाली कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त प्रणालीअन्तर्गत सेवाग्राहीले श्रमस्वीकृतिका लागि अनलाइनमार्फत फाराम पेस गर्नेबित्तिकै सेवाग्राहीको श्रम स्वीकृति लिने पालो कुन दिन पर्छ भन्ने थाहा हुने छ । सेवाका लागि सेवाग्राहीले जुन कार्यालयमा छिटो पालो आउँछ त्यहाँबाट लिन सकिने भन्दै महानिर्देशक भुसालले थप्नुभयो, “पाल्पाबाट आउने सेवाग्राही हुनुहुन्छ भने काठमाडौँभन्दा बुटवलमा छिटो पालो आयो भने त्यहीँबाट लिन सक्नुहुन्छ । ”

उहाँले यो प्रणाली कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगार श्रम कार्यालय ताहाचलमा लाग्ने भीड पनि स्वतः कम हुने र सेवाग्राही दिनहुँ श्रम कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने बताउनुभयो । यस्तै श्रम स्वीकृतिका लागि सेवाग्राहीले फाराम बुझाइसकेपछि कारणवश अस्वीकृत हुने भएमा वा थप कागजात पेस गर्नु परेको खण्डमा विभागले मोबाइलमा एसएमएस (मेसेजिङ) पठाउने व्यवस्था गर्न लागेको छ ।

श्रम स्वीकृतिको सूचना पनि मोबाइलको मेसेजमार्फत विभागले जानकारी गराउने व्यवस्था गर्ने छ । सेवाग्राहीले फाराम भर्दा पेस गरेको ईमेलमा श्रम स्टिकर पठाउने कार्य यसअघि नै कार्यान्वयनमा ल्याइसकेको विभागले जनाएको छ । यस्तै विभागका महानिर्देशक भुसालले विद्युतीय भुक्तानीका लागि लामो समयदेखि प्राविधिक तयारी गरेर सेवा प्रदायकसँग सम्झौताको चरणमा पुगेको र छिट्टै कार्यान्वयनमा जाने जानकारी दिनुभयो । यो प्रणाली लागू भएपछि कल्याणकारी कोषको पैसा तिर्न बैङ्कमा जानुपर्ने वा बिचौलियाको सहयोग माग्नुपर्ने अवस्था पनि अन्त्य हुने उहाँको भनाइ छ । (गोरखापत्र)