जनता टाइम्स

९ मंसिर २०७६, सोमबार १४:१०

जिम्मेवारी सम्हालन कानुन मन्त्रालय पुग्नुभयो मन्त्री यादव : प्रधानमन्त्रीको कदमको स्वागत गर्ने घोषणा


काठमाडौं, मंसिर ९

उपप्रधान तथा कानूनमन्त्री उपेन्द्र यादवले चार दिनपछि मन्त्रालय पुगेर जिम्मेवारी सम्हाल्नु भएको छ । मन्त्रालय हेरफेरका विषयमा असन्तुष्ट रहेको चर्चा चलिरहेका बेला उहाले भने मन्त्री हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीको भएको स्पष्ट पार्नुभएको छ ।

सोमबार दिउँसो उप तथा कानुनमन्त्रीको पदभार ग्रहण गर्दै उहाले आफू कानुन बनाउने ठाउँमा आइपुगेको बताउनु भयो । ‘मन्त्रालय परिवर्तन प्रमको कार्यक्षेत्रको कुरा हो, यसबारेमा उहाँले परामर्श गरिरहनुपर्दैन’, उपप्रधानमन्त्री यादवको भनाई थियो ।

उहाले आफूलाई सबैतिर अनुभव बटुलोस् भनेर प्रमले स्वास्थ्यबाट कानुनमा पठाएको भन्दै ठट्टासमेत गर्नुभयो । ‘प्रधानमन्त्रीले सबैतिर अनुभव गरोस् भनेर मलाई स्वास्थ्यबाट कानुनमा पठाउनुभएको होला’, उहाले भन्नुभयो, ‘सरकार छाड्नेबारे पार्टीले केही निर्णय लिएको छैन। पार्टीले निर्णय नगरी यसबारेमा अहिल्यै केही भन्दिनँ। अहिले किन छाड्नु सरकार ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ मन्त्री हेरफेर गर्दा उहालाई कानुनमन्त्रीको जिम्मा दिइएको थियो । सो समयमा भारत भ्रमणमा रहेका कारण उहाले सोमबारमात्रै पदभार ग्रहण गर्नुभएको हो । सत्ता साझेदार दलसँग सल्लाह नै नगरी मन्त्रालय हेरफेर गरेको र मन्त्री हटाएको भन्दै यादव नेतृत्वको समाजवादी पार्टीैले सरकार छाड्ने चेतावनी दिएपनि यादवले त्यसलाई नकार्नुभयो । पदभार ग्रहणका लागि उहा निजी गाडीमा मन्त्रालय पुग्नु भएको थियो ।