जनता टाइम्स

१० मंसिर २०७६, मंगलवार १५:४८

क्रोएसियामा शिक्षकको तलब बढाउन माग गर्दै हजारौको प्रदर्शन


क्रोएसिया, मंसिर १०

क्षिकको तलब बढाउन माग गर्दै क्रोएसियामा हजारौ शिक्षकले प्रदर्शन गरेका छन् । देशको राजधानीस्थित मुख्य क्षेत्रमा सोमबार भएको प्रदर्शनमा शिक्षक र उनीहरुका समर्थक गरी २० हजार भन्दा बढी सहभागी भएका थिए । उनीहरुको तलब बृद्धिसँगै काम गर्ने वातारणमा पनि सुधार हुनु पर्ने मागसमेत उठाएको अधिकारीहरुले जनाएका छन् ।

गत महिना पनि उनीहरुले तलब बृद्धिको माग गर्दै आन्दोलन गरेका थिए । सेवामुलक अन्य काममा भन्दा शिक्षण क्षेत्रमा कम तलब भएको भन्दै उनीहरुले आन्दोलन गरेका हुन् । लामो समयदेखिको असन्तुष्टि, सामाजिक प्रतिष्ठा, पेशाप्रतिको आकर्षणलगायतका विषयलाई ध्यान दिन आन्दोलनकारीहरुले आग्रह गरेका छन् ।

सरकारी पक्ष र आन्दोलनकारीहरुको संगठनकाबीचमा वार्ता हुन लागेको पनि जनाइएको छ । वार्तापछि सहमति भएमा सवै विद्यालयहरु खुल्ला हुने र पढाई हुने आन्दोलनकारीहरुका नेताले बताएका छन् । प्रधानमन्त्री अन्ड्रेज प्लेङ्कोभिकले आन्दोलनकारी र सरकारबीचमा चाडै नै सहमति हुने पत्रकारहरुलाई बताउनुभयो ।

“बालबालिकाप्रति उत्तरदायी हुन र उनीहरुको पठनपाठन सुचारु गराउन म सवै युनियन र युनियन नेताहरुलाई अनुरोध गर्दछु,” उहाँले भन्नुभयो । प्रधानमन्त्री प्लेङ्कोभिकले जतिसक्दो चाँडो आन्दोलन अन्त्य गरेर शिक्षकहरु कक्षाकोठामा फर्किने विश्वास पनि व्यक्त गर्नुभयो ।उहाँले शिक्षकहरुको तलब यसअघि पनि ११ प्रतिशत बृद्धि गरिएको स्मरण गराउदै आन्दोलन फिर्ता लिन आग्रह पनि गर्नुभयो ।