जनता टाइम्स

११ मंसिर २०७६, बुधबार ०७:०८

प्रधानमन्त्री ओलीको घोषणा : सीमा बचाउँदा सरकार ढले ढलोस, भारतले मिचेको नेपाली भूमि फिर्ता गराएरै छाड्छु (भिडियोसहित)


काठमाडौं, मंसिर ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने अवस्था आए पनि भारतले कब्जा गरेको कालापानी लिपुलेकलगायतका सवै नेपाली भूमि फिर्ता गराएरै छाड्ने सार्वजनिक घोषणा गर्नुभएको छ । कान्तिपुर टीभीका लागि भुषण दाहालसँग फायर साइडमा दिनुभएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले सो घोषणा गर्नुभएको हो ।

भारतले कालापानी क्षेत्रलाई आफ्नो भुमि भन्दै नक्सासार्वजनिक गरेपछि कडा प्रतिवाद गर्नुभएका प्रधानमन्त्री ओलीले सरकार ढल्छ भनेर मुलुकको सीमाको बिषयमा संझौता हुनै नसक्ने प्रष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकबाट भारतीय सेना हटाउने र नेपाली भूमि फिर्ता गरिने तथा यस्तोमा सरकार ढाले पनि आफू तयार रहेको घोषणा गर्नुभयो ।

‘सरकार गिरे गिर्छ, कतिपय अवस्थामा गिर्न पनि तयार हुनुपर्छ । अघिल्लो पटक म पनि गिरेको हो । सरकारबाट मलाई पनि ढालिएको हो’, प्रधानमन्त्री ओलीले भन्नुभयो । नाकाबन्दीको विरोध, उत्तरबाट पारवाहन सन्धि, नाका खोलेर नेपाललाई नयाँ उचाइमा लग्दा आफ्नो पहिलो कार्यकालको सरकार ढलेको बताउँदै ओलीले राष्ट्रिय हित, राष्ट्रको सीमाको मूल्यमा म सरकारमा रहन्छु कि रहन्न भन्ने कुराले कुनै अर्थ नराख्ने बताउनु भयो । प्रधानमन्त्री ओलीले सीमाको रक्षा सरकारको पहिलो काम भएको भन्दै उटपट्यांग कुरा गरेर बातावरण नबिगार्न सवैलाई सुझाव दिनुभयो ।

‘मैले सीमा जोगाउनुपर्छ कि सरकारमा रहनुपर्छ ? सीमा जोगाउनका लागि भक्ति थापा तोपको भुमरीमा उडेका होइनन ? बलभद्रहरु पानी खान नपाएर पनि लडेका होइनन ? अमर सिंह थापा तरवार लिएर मैदानमा उत्रिएका होइनन ? त्यसकारण मेरो पद, ज्यान होइन, राष्ट्र राष्ट्र हो, राष्ट्रको भूमि राष्ट्रको भूमि हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिले कुरा उठेको यहीँ भावनाका साथ काम गर्न सक्छ भनेर होला । पदको वास्ता नगर्ने, पदभन्दा माथि उठ्ने प्रधानमन्त्री छ भनेरै होला ।’

कालापानी लगायत सीमा विवादमा नरेन्द्र मोदीसँग आफूले खुलस्त गर्नसक्ने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले तल्लो तहबाट पनि समाधान हुनसक्ने बताउनु भयो । हामीसँग प्रमाण, नक्सा, जनगणना गरेका व्यक्ति सबै भएकाले यो विषयमा धेरै अफ्ठेरो मान्न पर्देन, प्रधानमन्त्रीले भन्नुभयो । उहाँले तथ्य र प्रमाणबाट भारतीय सेना हटाउने र भूमि फिर्ता गर्ने उदघोष पनि गर्नुभयो ।