जनता टाइम्स

२६ बैशाख २०७६, बिहीबार १९:४५

भारतको मिजोरमबाट यसरी गरियो २३ नेपाली चेलीको उद्धार


झापा, बैशाख २६

वैदेशिक रोजगारीको बहानामा अवैध रुपमा तेस्रो मुलुक लैजान लागिएका अवस्थामा भारतबाट २३ नेपाली चेलीको उद्धार गरिएको छ । भारतको उत्तरी राज्य मिजोरमबाट आज उनीहरुको उद्धार गरिएको हो ।

भारतीय सरकारको सहयोगमा उद्धार गरिएका ती नेपाली चेलीहरूलाई बिहान १०ः३० बजे काँकडभिट्टा ल्याएर माइती नेपालको पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा राखिएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो । म्यानमासँग भारतको सीमा जोडिएको मिजोरमस्थित चम्फीबाट ती महिलालाई उद्धार गरिएको थियो ।

केही महीनाअघि म्यान्मासँग सीमा जोडिएको मणिपुरको मोरेबाट पनि १७८ नेपालीलाई उद्धार गरी नेपाल ल्याइएको थियो । मानव बेचबिखनमा संलग्न दलालले पछिल्लो समय वैदेशिक रोजगारीका बहानामा नेपालीलाई भारतको मिजोरम, नागाल्याण्ड र मणिपुरबाट म्यान्मा हुँदै खाडी र दक्षिणपूर्वी एशियाली मुलुक लैजाने गरेका छन ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालका अनुसार उद्धार गरेर ल्याइएका महिलालाई माइती नेपालमा राखेर उनीहरूलाई कसरी दलालले म्यान्माको सीमामा पुर्याए भनी सोधखोज भइरहेको छ ।