जनता टाइम्स

१३ मंसिर २०७६, शुक्रबार ११:५९

बाजुराका हिमाली भेगमा हिमपात, बढ्यो चिसो


बाजुरा, मंसिर १३

जिल्लाका उच्च हिमाली भेगमा हिमपात भएको छ । हिमाली भेगमा हिमपात शुरु भएसँगै जिल्लामा चिसो बढेको छ । हिमपात बिहीबार साँझदेखि शुरु भएको हो । हिमाली भेगमा हिमपातसँगै तल्लो क्षेत्रमा पानी पर्न थालेको छ । असोजपछि पहिलोपटक पानी पर्न थालेको हो । आकाशको पानीले खेती गर्नु पर्ने हुँदा किसानले हालसम्म पनि पाखो जमीनमा हिउँदे खेती गरेका छैनन् ।

पानी पर्न थालेपछि किसानलाई केही आश थपिएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रशासन अधिकृत मीनप्रसाद जैशीले जानकारी दिनुभयो । किसान आकाशे पानी कुरिरहेका छन् तर उच्च हिमाली भेगमा परेको हिमपातसँगै चिसोले जनजीवन सामान्य भए पनि प्रभावित बनेको छ । बिहीबार साँझपखबाट एकाएक मौसम बदली भएको थियो । अहिले बिहानसम्म बाजुराको आकाशमा घामसमेत देखिएको छैन् । बडिमालिका, बूढीनन्दा, पोरखे, बढालेकलगायतका हिमालमा हिउँ पर्न शुरु भएको छ ।