जनता टाइम्स

१४ मंसिर २०७६, शनिबार ०८:४९

उपनिर्वाचन अपडेट : काहाँ– कहा के के भयो (सूचिसहित)


 

काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनका लागि आज बिहान सात बजेदेखि मतदान शुरु भएको छ ।
बागलुङ–२ (ख) र बडिगाड गाउँपालिका–२ का मतदान केन्द्रमा आज बिहान ७ बजेदखि मतदान शुरु भएको छ । ४५ वटै मतदान केन्द्रमा शान्तिपूर्णरूपमा मतदान भइरहेको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले बताउनुभयो ।

प्रदेशसभा सदस्यको निर्वाचन हुने क्षेत्रमा ४३ र वडाध्यक्षको निर्वाचन हुने बडिगाड–२ मा दुई मतदान केन्द्र छन् । उत्साहपूर्वकरुपमा मतदाता मतदानमा सहभागी भएको ढोरपाटन नगरपालिका–३ स्थित घोसाखानी आधारभूत विद्यालय मतदान केन्द्रका मतदान अधिकृत खिम विकले बताउनुभयो ।

प्रदेशसभा सदस्यका लागि १० उम्मेदवार चुनावी मैदानमा छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली काङ्ग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट निमबहादुर भण्डारी उम्मेदवार हुनुहुन्छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारी चुनावी मैदानमा हुनुहुन्छ । प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको गत वर्ष उपचारका क्रममा निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

यस्तै बडिगाड गाउँपालिका–२ बाट निर्वाचित वडाध्यक्ष विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि रिक्त अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । वडाध्यक्ष पदका लागि नेकपाबाट ढालप्रसाद शेरचन, काङ्ग्रेसबाट डिलबहादुर राना र समाजवादी पार्टीबाट हरिलाल राना चुनावी मैदानमा हुनुहुन्छ । प्रदेशसभा सदस्यको उपनिर्वाचन हुने क्षेत्रमा ३५ हजार १८४ र बडिगाड गाउँपालिका–२ मा एक हजार ७४२ मतदाता छन् । मतदान साँझ ५ बजेसम्म चल्नेछ ।

चितवन – जिल्लाका उपनिर्वाचन हुने तीन वडामा आज बिहान ७ बजेबाट मतदान शुरु भएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिका–४ एवं ५ मा मतदान शुरु भएको जानकारी दिनुभयो । निर्धारित समयमै ती वडाका मतदान केन्द्रमा मतदान कार्य शुरु भएको उहाँले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार जिल्लामा छ मतदानस्थल र १५ केन्द्र रहेका छन् । भरतपुर महानगरपालिका–१६ मा आठ हजार ४८१, खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ र वडा नं ५ मा दुई हजार १११ मतदाता रहेका छन् । जिल्लाका मतदानस्थलमा कडा सुरक्षाको व्यवस्था गरिएको छ । मतदान केन्द्रमा सिसी क्यामेरासमेत जडान गरिएको छ । ती वडामा प्रवेश गर्ने नाकामा सुरक्षाकर्मी बसेर सुरक्षा जाँच गरिरहेका छन् । जिल्लाका तीन वडामा पाँच राजनीतिक दलका १३ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । सवारी दुर्घटनामा खैरहनीका वडाध्यक्षको निधन भएको र भरतपुर–१६ का वडाध्यक्षको अर्बुद रोगका कारण निधन भएकाले उपनिर्वाचन हुन लागेको हो ।

घोराही– दाङमा उपनिर्वाचनका लागि प्रतिनिधिसभा क्षेत्र नं ३ (ख) र घोराही उपमहानगरपालिका–१६ को वडाध्यक्ष पदका लागि मतदान शुरु भएको छ । बिहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजेसम्म जारीरहने छ । मतदान सकिएलगत्तै आज बेलुकीबाटै मतगणना गरिने मुख्य निर्वाचनको कार्यालय जनाएको छ ।

मतगणनाको लागि पनि सम्पूर्ण तयारी पूरा गरिसकेको हुँदा दलसँगको सहमतिमा दाङ देउखुरी जिल्ला अदालतको कार्यालयमा आज बेलुकाबाटै मतगणना गरिने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । घोराही उपमहानगरपालिका–१६ को मतदान निर्वाचन कार्यालयको नजिक भएको हँुदा पनि छिट्टै मतगणनाको लागि कुनै समस्या नभएको उहाँको भनाइ थियो ।

“राजनीतिक दलका बीच दलीय सहमति भए घोराही–१६ को उपनिर्वाचनको मतगणना आजबाटै सुरु हुन्छ”, उहाँले भन्नुभयो, “तत्काल गणना शुरु गर्दा प्रक्रिया सहज हुने र भोलिपल्ट गर्दा झन्झटिलो हुने हुँदा दलहरुको सहमतिमा आजबाटै मतगणना शुरु गर्ने तयारीमा रहेका छाँै ।” घोराही उपमहानगरपालिका–१६ सदरमुकाम नजिकै भएकाले मतपेटिका समयमै सङ्कलन हुने हुँदा तत्काल गणना सम्भव भएको निर्वाचन अधिकृतले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार घोराही उपमहानगरपालिका–१६ को मतगणना दाङ देउखुरी जिल्ला अदालतको परिसरभित्र गरिने व्यवस्था मिलाइएको छ । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं ३ (ख) को मतगणना भने आइतबार बिहानदेखि गरिने भएको छ । उक्त क्षेत्रका केही मतदानस्थल विकट क्षेत्रमा रहेका कारण मतपत्र ल्याउन समय लाग्ने भएकाले प्रदेशसभाको मतगणना आइतबार गर्ने व्यवस्था मिलाइएको रिजालले बताउनुभयो । प्रदेशसभाको मतगणना जिल्ला समन्वय समितिको सभाहलमा गरिने भएको छ ।

उपनिर्वाचनका लागि जिल्लाका ३४ निर्वाचनस्थल तथा ८२ मतदानकेन्द्र तोकिएका छन् । निर्वाचनका लागि ७३६ कर्मचारी खटिएका छन् । निर्वाचन क्षेत्र नं ३ (ख) मा ६८ हजार ७१९ र घोराही उपमहानगरपालिका–१६ मा चार हजार ४५३ मतदाता छन् ।

 

कास्की–२ मा प्रतिनिधिसभा सदस्य, भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन हुन लागेको हो । पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

यसैबीच भक्तपुरको चाँगुनारायण–२ दुवाकोट मतदान केन्द्रमा भएको मतदानको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अवलोकन गर्नुभएको छ । उपनिर्वाचनको अवलोकनका लागि भक्तपुरका मुख्य निर्वाचन अधिकृत जगत्नारायण प्रधानले यहाँ हुने निर्वाचनका लागि गरिएको आवश्यक तयारीबारे प्रमुख निर्वाचन आयुक्त थपलियालाई जानकारी दिनुभयो । उपनिर्वाचन अवलोकनका लागि कूटनीतिक नियोगका प्रमुखहरु मतदान केन्द्र आइसक्नु भएको छ ।
कास्कीमा मतदान शुरु
कास्की क्षेत्र नं २ मा आज बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्य पदका लागि मतदान शुरु भएको छ । यस क्षेत्रमा ३२ मतदानस्थलका ८२ मतदान केन्द्रमा निर्धारित समयमै मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिनुभयो । प्रायः सबै मतदान केन्द्रमा मतदाता बिहानैदेखि मतदान गर्न लामबद्ध भएका छन् । बिहानको समयमा धेरै बेर मतदान गर्नका लागि कुर्न नपर्नुपर्ने उद्देश्यका साथ कतिपय मतदाता बिहानै मतदान गर्न आएका हुन् । यसैबीच, मतदानस्थलमा सुरक्षाको व्यवस्था कडा बनाइएको छ ।

कास्की क्षेत्र नं २ मा पोखरा महानगरपालिकाअन्तर्गतका ११ वडा पर्छ । यस क्षेत्रमा ७१ हजार ८७१ मतदाता छन् । यस क्षेत्रका सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि आज प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचनअन्तर्गत मतदान भइरहेको हो ।

भक्तपुर, धरान, मालारानी र राजविराजमा मतदान शुरु
भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेशसभा सदस्य पदको उपनिर्वाचनका लागि आज बिहान ७ बजेबाट शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । प्रदेश (क) मा चाँगुनारायण नगरपालिकाको नौ वडा र भक्तपुर नगरपालिकाको वडा नं १० गरी १० वडामा कूल २२ मतदानस्थलका ५४ मतदान केन्द्रमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

कूल २१ हजार ९३५ पुरुष र २३ हजार ८० महिला गरी ४५ हजार १५ मतदाता रहेको यो प्रदेशमा बिहानैदेखि उत्साहजनकरूपमा मतदाता मतदानमा लामबद्ध भएका छन् । अधिकांश मतदानस्थलमा बिहान ६ बजेदेखि नै मतदाता पुगेका थिए ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले आज बिहान ७ बजेबाट शान्तिपूर्णरूपमा मतदान शुरु भएको जानकारी दिँदै मतदान केन्द्र, मतदानस्थल र निर्वाचन हुने क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताउनुभयो । मतदाताले शान्तिपूर्णरूपमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न पाउने गरी व्यवस्था गरिएको उहाँको भनाइ थियो ।

आवश्यकताअनुसार सुरक्षाकर्मी थप गर्न सक्ने बताउँदै उहाँले मतदानस्थलमा नेपाल प्रहरी, बाहिरी घेरामा, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएका छन् । उपनिर्वाचनका लागि नौ दलका नौ उम्मेदवार र १० स्वतन्त्रसहित कूल १९ उम्मेदवार चुनावी मैदानमा छन् ।

इनरुवा– त्यस्तै सुनसरीको धरान उपमहानगरपालिकामा नगरप्रमुख र एक वडाध्यक्ष पदका लागि मतदान शुरु भएको छ । धरानमा रहेको २८ मतदान केन्द्र र ९९ मतदानस्थलमा मतदान शुरु भएको हो । मतदानका लागि निर्धारित गरिएको समय बिहान ७ बजेबाट मतदान शुरु भएको छ । धरान उपमहानगरपालिकाको प्रमुख र वडा नं ७ का अध्यक्ष पदका लागि मतदान शुरु भएको हो । धरानमा ९२ हजार ५५३ मतदाता रहेका छन् । निर्वाचनलाई लक्षित गरेर धरानको सुरक्षा व्यवस्था कडा पारिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताउनुभयो ।

अर्घाखाँची– जिल्लाको मालारानी गाउँपालिका–३ को एक वडाध्यक्ष पदका लागि मतदान शुरु भएको छ । वडामा तीन हजार ११ मतदाता रहेका छन् । आदर्श मावि खनदह र सुन्दरा मावि सावडाँडा गरी दुई मतदानस्थलका चारवटै मतदान केन्द्रमा मतदान शुरु भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयो । मतदानस्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

मालारानी–३ को वडाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का यमलाल खनाल, नेपाली काङ्ग्रेसबाट शोभाखर खनाल र राप्रपाबाट रणबहादुर खनाल चुनावी मैदानमा छन् । तत्कालीन वडाध्यक्ष जीवन चौहानको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

राजविराज– सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा स्थानीय तहअन्र्तगत वडाध्यक्ष पदका लागि आज बिहान ७ बजेदेखि मतदान शुरु भएको छ । शान्तिपूर्ण वातावरणमा वडाध्यक्ष पदका लागि मतदान शुरु भइसकेको र मतदाता मतदानस्थलमा आउने क्रम जारी रहेको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले जनाकारी दिनुभयो ।

सो वडामा ६४६ महिला तथा ७५७ पुरुष गरी कूल एक हजार ४०३ मतदाता छन् । उपनिर्वाचनका लागि छिन्नमस्ता गाउँपालिका– ७ हाटीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा क र ख गरी दुई मतदान केन्द्र कायम गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सप्तरीको एक मात्र स्थानमा निर्वाचन हुन गइरहेको सो वडाध्यक्ष पदका लागि एक स्वतन्त्रसहित सात उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।

विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा राजपाबाट वडाध्यक्ष पदमा निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो । निर्वाचनका लागि तीन तहको सुरक्षा व्यवस्था मिलाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिनुभयो ।

यस्तै जिल्ला सुरक्षा समिति सप्तरीले निर्वाचनका लागि मङ्सिर ११ गते राति ८ बजेदेखि मङ्सिर १५ गतेसम्म सम्पूर्ण छिन्नमस्ता गाउँपालिका क्षेत्र र विष्णुपुर गाउँपालिका–७ क्षेत्रभित्र मदिरा बिक्री, वितरण, उत्पादनलाई पूर्णरूपमा बन्देज लगाएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताउनुभयो ।

त्यस्तै आज बिहान ५ बजेदेखि मतदानकार्य सम्पन्न नभएसम्मका लागि तोकिएबमोजिमको अनुमतिप्राप्त र आकस्मिक सेवासम्बन्धी सवारी साधनबाहेक अन्यलाई विष्णुपुर गाउँपालिकास्थित पश्चिमी कोशी नहरको दक्षिणपट्टिको भागमा सवारी आवगमनमा बन्देज लगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।