जनता टाइम्स

१४ मंसिर २०७६, शनिबार १३:५०

भ्रमण वर्ष प्रभावकारी बनाउन कार्ययोजना तयार


परासी, मंसिर १४

पश्चिम नवलपरासीमा भ्रमण वर्ष–२०२० लाई प्रभावकारी बनाउन धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रवद्र्धनात्मक कार्यक्रमहरुलाई जोड दिइने भएको छ । भ्रमण वर्ष शुरु हुने दिन नजिकिँदै गर्दा जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समितिले प्रदेश र स्थानीय सरकारसँगको साझेदारीमा पर्यटक आकर्षित गर्ने योजनाहरु सञ्चालन गर्ने गरी तयारी थालेको हो ।

जिल्लामा आउने पर्यटकको स्वागत सत्कारसहित उनीहरुको बसाइ लम्बाउने र स्थानीयवासीलाई रोजगारीको अवसर सिर्जना गर्ने वातावरण तयार गर्ने गरी प्रवद्र्धनात्मक कार्यक्रमलाई अगाडि बढाउन लागिएको जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायले बताउनुभयो ।

“भ्रमण वर्षमा नेपाल सरकारले लिएको लक्ष्य हासिल गर्न हामीले बढीभन्दा बढी पर्यटक भित्र्याउने गरी योजना बनाएका छौँ, आएका पर्यटकलाई स्वागत सत्कार तथा गर्नुपर्ने व्यवहारको विषयमा स्थानीयवासीलाई सचेतना पनि दिन्छौँ, पर्यटकको बसाइ लम्ब्याउने कार्यक्रमहरु पनि सञ्चालन हुन्छन्”, अध्यक्ष रायले भन्नुभयो ।

समितिले जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने, पर्यटन सूचना केन्द्र स्थापना गर्ने, स्थानीयवासीलाई ती स्थलहरुको ऐतिहासिक, पुरातात्विक महत्व बुझाउने, भ्रमण वर्ष मनाउनुका कारण र फाइदाका विषयमा सचेतना जगाउने, पर्यटकलाई गर्नुपर्ने सम्मान र व्यवहारको विषयमा स्थानीयवासीलाई जागरुक बनाउने योजना बनाएको छ ।

यसैगरी घरबास प्रवद्र्धन गर्ने, जिल्लाका सबै पर्यटकीय स्थलहरुको सूची तयार गरी ब्रोसर बनाउने, चिनारीसहितको होर्डिङ बोर्ड राख्ने, पर्यटकलाई लक्षित गरी जिल्लाका मुख्य स्थानहरुमा जातीय संस्कृति झल्कने गरी भ्रमण वर्ष अवधिभर सांस्कृतिक प्रदर्शनी आयोजना गर्नेलगायतका योजनाहरु अघि सारेको रायले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगामी जनवरी महिनाको एक तारिखमा भगवान् गौतम बुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूपबाट भव्य समारोह गरी भ्रमण वर्षको शुभारम्भ गरिनेछ । उक्त कार्यक्रममा स्तूपमा आउने विदेशी पर्यटकलाई नेपाली पहिचानसहितको स्वागत सत्कार गर्ने, विभिन्न जातजातिको लोपोन्मुख संस्कृति प्रदर्शन गर्ने, रामग्रामसहित जिल्लाको समग्र पर्यटन विकासको विषयमा बृहत् अन्तरक्रिया गरिनेछ ।

भ्रमण वर्षको शुभारम्भअघि जिल्लाका सबै धार्मिक तथा पर्यटकीय स्थलहरुको सूची तयार गर्ने, ती स्थलहरुको चिनारी र महत्वसहितको ब्रोसर छपाइ तथा होडिङ बोर्ड राख्ने र पर्यटन सूचना केन्द्र स्थापना गर्ने समितिको तयारी छ । भ्रमण वर्ष अवधिभर जिल्लाका सातवटै स्थानीय तहका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलमा कम्तीमा महिनामा एकपटक प्रवद्र्धनात्मक कार्यक्रम गर्ने योजना बनाइएको छ ।

भगवान् गौतम बुद्धसँग सम्बन्धित स्थलहरु रामग्राम स्तूप, पण्डितपुर, अनोमाघाट, बुद्धमङ्गल ताल, देवदह ताल तरगौली, कोलवृक्षसहित पाल्ही भगवती मन्दिर, सिमसार क्षेत्र, महलपोखरी, संसारकोट, बाबा बर्दगोरियालगायतका पर्यटकीय स्थललाई प्राथमिकतामा राखी पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने समितिको तयारी छ ।

भ्रमण वर्षका कार्यक्रमलाई प्रचारप्रसार तथा प्रवद्र्धनका लागि समिति सदस्य एवं राससकर्मी मोहन पौडेलको संयोजकत्वमा सूचना, प्रकाशन तथा प्रचारप्रसार उपसमिति पनि गठन गरिएको छ । प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिले पनि पश्चिम नवलपरासीका बुद्धस्थलहरु रामग्राम, पण्डितपुर, अनोमाघाटलगायतका स्थानलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको प्रदेशस्तरीय समितिकी सदस्य लक्ष्मी क्षेत्रीले जानकारी दिनुभयो ।