जनता टाइम्स

१६ मंसिर २०७६, सोमबार ०७:०२

बागलुङ २ ‘ख’मा बाम गठबन्धनका उम्मेदवार शाहीले ११ हजार २३५ मत प्राप्त गरी विजयी


बागलुङ,  मंसिर १६ । बागलुङ जिल्लाको क्षेत्र नम्बर २ ‘ख’ प्रदेशसभा सदस्यको उपनिर्वाचनमा बाम गठबन्धनका उम्मेदवार खिम विक्रम शाही विजयी हुनुभएको छ । शाहीले ११ हजार २३५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्व नेपाली कांग्रेसका जीत शरचनले ९ हजार १३८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुभयो । शाही जीत शेरचन संग दुई हजार ९७ मतआन्तरले विजयी हुनुभएको हो । नेकपाले केन्द्रिय निर्णय अनुसार बागलुङमा राष्ट्रिय जनमोर्चालाई सघाएको थियो ।

समाजवादी पार्टीका अशोककुमार विकले ३१६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का निमबहादुर भण्डारीले ३६, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर कुँवरले ३७, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आलेले ३३, सङ्घीय लोकतान्त्रिक राष्ट्रियमञ्चका अनिलकुमार राइले ८, मङ्गोल नेशनल अर्गनाइजेशनका मित्रबहादुर मगरल ४५ तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्तीले ९५ र सन्तोष भण्डारीले २८ मत प्राप्त गर्नुभएको छ । यस्तै ३१६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका रहेको यस क्षेत्रमा कुल मतदाता संख्या ३५ हजार १८४ रहेकोमा जम्मा २१ हजार चार सय मत खसेको छ । गत चुनावमा कुल मतदाता संख्याको ६५ प्रतिशत मत खसेको यस क्षेत्रमा अहिले ६१ प्रतिशत मात्र मत खसेको हो । २०७४ सालमा यो क्षेत्रमा जनमोर्चाका टेकबहादुर घर्ती ११ हजार ८८४ मत पाएर विजयी हुनुभएको थियो । त्यतिबेला काँग्रेसका जितबहादुर शेरचनको ८ हजार ६२४ भोट पाउनुभएको थियो । प्रदेश सांसद टेक बहादुर घर्तीको निधनपछि बागलुङमा उपचुनाव भएको हो ।