प्रदेश १मूख्य समाचारशिक्षा / स्वास्थ्यसमाचार

सिद्धबाबा कृष्णदासजी महाराज पक्राउ, आश्रममै अनुयायीलाई बलात्कार गरेको अभियोग

विराटनगर, मंसिर १६ । बलात्कारको आरोप लागेका सिद्धबाबा कृष्णदासजी महाराजलाई प्रहरीले पक्राउको गरेको छ । विराटनगरस्थित विराट नर्सिङ होम आइसीयूमा भर्ना भएको अवस्थामा नै आज बिहान सुनसरीका डीएसपी विनोद शर्माको टोलीले उनलाई पक्राउ गरेको हो।

दिउँसो पक्राउ गर्दा कृष्णदासजीका समर्थकको भीड लाग्ने र अवरोध सिर्जना हुने भएकाले बिहानै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सुनसरी लगिएको डीएसपी शर्माले बताउनु भयो । सुनसरीको चतरास्थित आफ्नै आश्रममा गत कात्तिक ४ गते बलात्कार गरेको भन्दै एक महिला अनुयायीले प्रहरीमा उजुरी दिएको सार्वजनिक भएपछि उनी गत बिहीबारबाट विराट नर्सिङ होममा उपचारका लागि भर्ना भएका थिए।

छाति, मुटु तथा प्रोस्टेट तथा मृर्गौलाको पत्थरीले समस्या बनाएपछि उपचारका लागि अस्पताल भर्ना भएको कृष्णदासजीले बताउँदै आएका थिए । गाइनो वार्डको ५ नम्बर डिलक्स रुममा राखेर उनको उपचार भइरहेको थियो । मुटुको धड्कन बढेको भन्दै उनलाई आइतबार बिहान ११ः३० बजे आइसीयूको १० नम्बर बेडमा भर्ना गरिएको थियो।

बरिष्ठ मुटु रोग विशेषज्ञ डा. ज्ञानेन्द्र गिरीका अनुसार मुटुको धड्कन बढेर समस्या भएपछि र छातिमा पनि दुखाई बढेपछि कृष्णदासजीलाई आइसीयूमा भर्ना गरिएको हो। डीएसपी शर्माका अनुसार चिकित्सकले केहि दिन अस्पतालमै राख्नुपर्ने जानकारी गराएपनि कानुनको पालना गर्नका लागि उनलाई पक्राउ गरिएको हो । कृष्णदासजीलाई आज बिहान १० बजे जिल्ला अदालत सुनसरीमा उपस्थित गराएर म्याद थप गरी अनुसन्धान अघि बढाइने डीएसपी शर्माले जानकारी दिनुभयो । सिद्धबाबा कृष्णदासजीले भने आफूमाथि गम्भीर षडयन्त्र भएको भन्दै आरोप अस्वीकार गरेका छन ।

Comment here