जनता टाइम्स

१६ मंसिर २०७६, सोमबार ०९:५९

उपनिर्वाचन सन्देश : तीन तहमै वर्चस्व कायम गरेको नेकपाको ‘पोजिसन’ बदलिएको छैन


काठमाडौं, मंसिर १६

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ स्थानमा भएको उपनिर्वाचन परिणाम लभगभ आएको छ । परिणामको सख्या हेर्दा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको लोकप्रियतामा खासै ह्रास आएको देखिदैन । तर, दुई महत्वपूर्ण क्षेत्र गुमाएको छ । भक्तपुर १(क) र धरान उपमहानगरपालिकामा नेकपाले आफ्नो बर्चश्व गुमाउदा कांग्रेसले त्यहा जित निकालेको छ ।

यद्यपी कांग्रेस सोचेजस्तो सरकारको अलोकप्रियता नै आफ्नो लोकप्रियता भन्ने सन्देश पाएन । यी दुई क्षेत्रमा अन्तर्घात भएको आशंका सत्तारुढ दलभित्रै छ । यद्यपी यसविषयमा विस्तारै कुरा खुल्ने नै छ । तर, तत्कालिन एमालेले एक्लै भारी मतले जितेको धरानमा दुई पार्टी मिलेरपनि हार्नुलाई सकरात्मक लिन सकिदैन । कांग्रेसले यसअघि जितेका फाल्गुनन्द गाँउपालिका अध्यक्ष र हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष गुमाएको छ । वडाध्यक्षमा पनि दुवै दलको लगभग उस्तै अवस्था छ ।

यसबाट सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी दुवै दललाई खास सन्देश दिएको छ । आफ्नो लोकप्रियता बढेको नेकपाको दाबी र सरकार तथा सत्तासीन दल अलोकप्रिय भइसके भन्ने कांग्रेसको दाबी दुवैलाई यो परिणामले खण्डित भने गरेको छ । अघिल्लो निर्वाचनको नतिजामा केही हेरफेर भए पनि समग्रमा तीन तहमै वर्चस्व कायम गरेको नेकपाको ‘पोजिसन’ बदलिएको छैन । तीन सिटका लागि भएको प्रदेशसभाको उपचुनावमा भक्तपुरको एक सिट नेकपाले गुमाएको छ । बागलुङ र दाङका दुई सिटमा जित निकालेको छ ।

नेकपाको विशेष पकड रहेको भक्तपुरको क्षेत्रमा कांग्रेस उम्मेदवारको विजयले उम्मेदवारी छनोटदेखि समग्रमा पार्टीको जनतासँगको सम्बन्धमा कमजोरी देखिएको मूल्यांकन नेकपाका स्थानीय नेताहरूले गरिरहेका छन् । उम्मेदवारी छनोटमा असन्तुष्टि जनाउँदै नेकपाको कार्यालयमा स्थानीय नेताहरूले तालाबन्दी गरेका थिए । पछि केन्द्रबाट हस्तक्षेप गरेपछि चुनावी अभियान त अघि बढ्यो तर नेकपाले नतिजा आफ्नो पक्षमा पार्न सकेन ।

नेकपा केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज दिलीप प्रजापति त्यहाँ कांग्रेस र राप्रपा संयुक्तबीचको गठबन्धनका कारण परिणाम विपक्षमा गएको बताउँछन् । तर यो क्षेत्रको तथ्य हेर्दा भक्तपुर नगरपालिकाको एउटा वडा र चाँगुनारायण नगरपालिका सिंगै पर्छ । गत चुनावमा चाँगुनारायण नगरपालिकामा नेकपाले जितेको थियो ।

कांग्रेसलाई भने भक्तपुरको चुनावी नतिजाले केही राहत दिएको छ । योक्षेत्रमा कांग्रेसले झन्डै चार हजार मत बढाएको छ । नेकपाभित्रको अन्तरद्वन्द्वको प्रभावले कांग्रेसलाई चुनावी नतिजाआफ्नो पक्षमा पार्न सहज बनेको हो ।

कास्की–२ मा रवीन्द्र अधिकारीको निधनपछि उनकै श्रीमती विद्या भट्टराईलाई उम्मेदवार बनाइयो । उहाले झन्डै साढे आठ हजार मतान्तरमा विजय हासिल गर्नुभयो । ठूलो अन्तरमा विजय हासिल गरे पनि गत चुनावको भन्दा बढी मत आएन । किनकी यो पटकको उपनिर्वाचनमा विगतको भन्दा कम मतदान भएको थियो । दिवंगत अधिकारीले जित्दा कायम गरेको मतान्तरकै सेरोफेरोमा भट्टराईले जित भने हात पार्नुभएको छ । नेकपाले यो क्षेत्रलाई प्रतिष्ठाको विषय बनाएको थियो ।

५१ वटै स्थानको मतपरिणाम आइसकेको छ । त्यसमा प्रतिनिधिसभाको एक सिटमा नेकपाले जितेको छ । प्रदेशसभाको तीनमध्ये एक सिटमा कांग्रेस र एकमा नेकपा र अर्को एकमा बाम गठबन्धनले जितेको छ । स्थानीय तहका ४ वटा प्रमुखमध्ये महोत्तरीको पिपरा, फाल्गुनन्द र संखुवासभाको मकालु गाउँपालिकामा नेकपाका प्रमुख विजयी भएका छन् । सुनसरीको धरान उपमहानगर नेपाली कांग्रेसले जितेको छ ।

वडाध्यक्षमा नेकपाले २४ ठाउँमा जितेको छ । कांग्रेसले ११, समाजवादी पार्टीले ४, राजपाले २ र स्वतन्त्रले १ ठाउँमा जित हात पारेका छन् । धरानकै वडा नम्बर ७ को वडाध्यक्षको भने मतपरिणाम आउन बाँकी छ ।