जनता टाइम्स

२७ बैशाख २०७६, शुक्रबार १२:००

मुख्यमन्त्रीद्वारा वृद्धाश्रम शिलान्यास


पर्सा, बैशाख २७

वीरगञ्जको नगवामा निर्माण हुनलागेको ज्येष्ठ नागरिक वृद्धाश्रमको आज प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले शिलान्यास गर्नुभएको छ । प्रदेश सरकारको रु ५० लाखको लागतमा दुई हजार ५०० वर्गमिटर क्षेत्रफलमा दुईतले सुविधासम्पन्न वृद्धाश्रम निर्माण हुनेछ ।

सो अवसरमा मुख्यमन्त्री गद्दीले ज्येष्ठ नागरिकका लागि निर्माण भइरहेको वृद्धाश्रमले समाजलाई सन्तुलित बनाउन मद्दत गर्ने विचार व्यक्त गर्नुभयो । उहाँले राष्ट्र र समाजका लागि जीवनको महत्वपूर्ण समय खर्चेका ज्येष्ठ नागरिकका लागि प्रदेश सरकार लगानी गर्न पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वृद्धाश्रम निर्माण समितिका अध्यक्ष कृष्ण श्रेष्ठले रु चार करोड १० लाखको कूल लागतमध्ये भवन निर्माणका लागि प्रदेश सरकारले रु ५० लाख लगानी गरेको जानकारी दिनुभयो । उहाँले भवन निर्माणका लागि नपुग रकम समाजसेवी, बुद्धिजीवी, नगरिक समाजबाट चन्दा सङ्कलन गरी निर्माण कार्य सम्पन्न गरिने बताउनुभयो ।