मूख्य समाचारविचार / ब्लगशिक्षा / स्वास्थ्यसमाचारसमाजसूचना-प्रबिधि

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा देखियो उल्लेख्य सुधार, मुस्कानसहित अस्पतालबाटै आयो यस्तो भिडियो सन्देश

काठमाडौं, मंसिर १६ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सम्बोधनमार्फत आफ्नो स्वास्थ्यबारे जानकारी दिनुभएको छ । आफ्नो स्वास्थ्यलाई लिएर अफवाह फैलाउने समुह सक्रिय भएपछि प्रधानमन्त्री ओलीले आज भिडियो सन्देशमार्फत जानकारी दिनुभएको हो ।

सन्देशमा प्रधानमन्त्री ओलीले आफू उठेर बोल्न, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा रहेको प्रष्ट पार्नुभएको छ । प्रधानमन्त्री ओलीको मंगलबार एपेण्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षमा रहनुभएका प्रधानमन्त्री ओलीले आज भिडियो सन्देश जारी गर्दै भन्नुभएको छ, ‘मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अप्रेसनपछि तपाईंहरु देखिरहनु भएको छ ‘मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।’

आफूले आइतबारको १३ औं ‘साग’को उद्घाटन समारोह पनि पूरै हेरेको पनि उहाँले जानकारी दिनुभएको छ । ‘हुनसक्छ कि सक्दैन भन्ने द्विविधा समाप्त भएकामा खुसी लाग्या छ, मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु, सबैलाई आग्रह गर्दछु,’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।

सम्बोधनको पुर्णपाठ

एपेण्डीसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन । यो अचानक आइलाग्छ । मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो । त्यसमा इन्फेक्सन भएछ । र, त्यो बाहिर पनि फैलिएछ । त्यसमा मात्रै इन्फेक्सन सिमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो । बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनु पर्यो । त्यसकारण उपचारका क्रममा हप्ता दश दिन लाग्ने भयो । तर, मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अपरेशनपछि तपाईंहरु देखिरहनु भएको छ, मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।

हिजो मैले १३ औं ‘साग’को उद्घाटन समारोह पनि पूरै हेरेँ । हुन सक्छ कि सक्दैन भन्ने द्विविधा समाप्त भएकामा खुसी लाग्या छ । म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनु भएकोमा, अरु सबैलाई सहभागि हुनु भएकोमा धन्यवाद भन्न चाहन्छु । मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु, सबैलाई आग्रह गर्दछु ।’

https://www.facebook.com/watch/?v=2663579010415904

मेरो स्वास्थ्य अवस्थाको बारे जानकारी

मेरो स्वास्थ्य अवस्थाको बारे जानकारी

Posted by K P Sharma Oli on Monday, December 2, 2019

Comment here