जनता टाइम्स

१६ मंसिर २०७६, सोमबार २०:१५

प्रतिनिधिसभामा निर्वाचित भएपछि बिद्या भट्टराईको अठोट : जनताको आशा र भरोसा टुट्न दिनेछैन


कास्की, मंसिर १६ । कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ विद्या भट्टराईले जनताले आफूमाथि गरेको आशा र भरोसालाई टुट्न नदिने सार्वजनिक अठोट गर्नुभएको छ । मंसिर १४ गते सम्पन्न कास्की उपनिर्वाचन परिणामपछि विजयको प्रमाणपत्र ग्रहण गरेसँगै आज साँझ पत्रकारसँग कुरा गर्दै नेतृ भट्टराईले सो अठोट गर्नुभएको हो ।

‘कास्कीका जनताले जुन उत्साह र बिश्वासका साथ मतदान गरेर जिताउनु भयो, त्यो बिश्वासलाई सदा कायम राखेर अबको बाँकी समय तिनकै सेवक भएर बिताउँछु,’ भट्टराईले भन्नुभयो । ‘राजनीतिमा अझै पनि धेरै चुनौती छन, राजनीतिक संस्कारको अभाव छ । युवा पंक्तिमा राजनीतिप्रतिको विश्वास गुमेको छ, अबको राजनीतिले नयाँ पुस्ताको रुचिलाई सम्बोधन गर्न सक्नुपर्छ, जनताको चाहनालाई सुनुवाइ गर्नुपर्छ,’ भट्टराईले भन्नुभयो ।

उपनिर्वाचनमा मतदाताले समृद्ध नेपाल, सुखी नेपालीका अभियानकर्मी आफ्ना जीवनसाथी रवीन्द्रप्रसाद अधिकारीको पनि सम्मान गरेको उहाँको भनाई थियो । उहाँले आइतबार पोखरा महानगरपालिका–२० मा श्रमिकको बाटो निर्माण क्रममा पुरिएर मृत्यु भएको घटनाले आफूलाई निकै दुःखी बनाएको भन्दै मृतक मजदूरप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । प्राध्यापन पेशाबाट राजनीतिमा फर्कनुभएका भट्टराईले जनताको बिश्वास कहिल्यै गुम्न नदिने पनि बताउनु भयो । अनेरास्ववियुका सचिवको जिम्मेवारीसम्म पूरा गर्नुभएकी भट्टराईले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेलले आफूलाई बधाई दिएर देखाएको राजनीतिक संस्कारप्रति धन्यवाद दिनुभयो ।

नेकपाका नेता तथा भट्टराईका पति तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको गत वर्ष फागुन १५ गते हवाई दुर्घटनामा निधन भएपछि कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि पुनः निर्वाचन भएको थियो । कुल ७१ हजार ८७१ मतदाता रहेकामा ४५ हजार ५६३ मत खसेको थियो । भट्टराईले २४ हजार ३९४ मत प्राप्त गरी बिजयको झण्डा फहराउनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पौडेलले १५ हजार ९९१ मत प्राप्त गर्नुभएको थियो । आठ हजार ४०३ को मतान्तरले भट्टराई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । पति अधिकारीको निधनसँगै २० बर्षपछि बिद्या राजनीतिमा फर्कनु भएको हो ।