जनता टाइम्स

१७ मंसिर २०७६, मंगलवार ०७:५४

महिलामन्त्री पार्वत गुरुङको अठोट : समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षा पूरा गर्नेगरी काम गर्छु


काठमाडौं, मंसिर १७ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सार्नुभएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाङ्क्षालाई पूरा गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

साथीको लागि साथी नामक सङ्घ, कालीञ्चोक युवा क्लव र लायन्स क्लव अफ दोलखालगायतका सङ्घ/संस्थाद्वारा उहाँको सम्मानमा आयोजित ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उहाँले जनतालाई लाभ हुने र परिणाम आउने गरी जनताको पक्षमा काम गर्ने बताउनुभयो । “यो बेला दोलखा जिल्लाको विकाससँगै सिङ्गो देशको विकास गर्ने बेला हो, देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने बेला हो, यसलाई सफल बनाउनका लागि सम्पूर्ण जनताको त्यतिकै साथ र सहयोगको आवश्यकता हुन्छ,”उहाँले भन्नुभयो ।

मन्त्री गुुरुङले दोलखा जिल्लाको समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासँगै नमूना जिल्लाका रुपमा विकास गर्नेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफू सधैंभरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सिमान्तकृत समुदायको पक्षमा रहेको र सरकारमा रहुनजेल उनीहरुको हितमा नै काम गर्ने बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य दिव्यमणि राज भण्डारीले विचारको हिसावले जुनसुकै पार्टीमा आस्था भएतापनि दोलखा जिल्लाको विकासको लागि सम्पूर्ण दोलखावासी एकजुट भएर अगाडि बढ्नुपर्छ भन्नुभयो । पूर्वमहान्याधिवक्ता मुक्ति प्रधान र समाजसेवी कमल श्रेष्ठलगायतले दोलखा जिल्लालाई देशकै नमूना जिल्लाका रुपमा विकास गर्न सरकारलाई आग्रह गर्नुभयो ।