जनता टाइम्स

१७ मंसिर २०७६, मंगलवार ०८:५३

अधुरै रह्यो अबोध बालक रिसनको स्कूल भर्ना हुने चाहना


इश्वरमणि निरौला/काठमाडौं । तपाईलाई अनौठो लाग्दो हो, एउटा अबोध बालकको बिद्यालय (स्कूल) भर्ना हुने चाहनासमेत पूरा हुन सकेन भन्दा । तर यो सत्य घटना हो । यो कुनै दुरदराज, विकट गाउँको कथा पनि होइन, जहाँ विद्यालय छैन । यातायात अभाव वा शिक्षक नभएर पनि होइन । यो तितो सत्य नेपालकै संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकाभित्रकै बास्तविकता हो । जो नेपालको मुटु हो, देशको राजधानी हो । यही राजधानीको भिमसेन गोलामा रहेको सरकारी विद्यालय निर्मल बालविकास केन्द्र र अबोध बालक रिसनको कुरा हो ।

नेपाल सरकारले बौद्धिक अपाङ्गता भएका बालबालिका तथा अपाङ्गता भएका बालबालिकाको लागि आफ्नो दायित्व तथा कर्तव्य बोध गरी केही विद्यालयहरुको निर्माण गरेको छ । त्यसैमध्ये एक हो निर्मल बालविकास केन्द्र । यसको सम्पूर्ण दायित्व नेपाल सरकारले लिएको छ । यसमा भएको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्छ । यो बौद्धिक अपाङ्गता तथा अपाङ्गता भएका बालबालिकाको मन्दिर हो । जहाँ उनीहरुले आफ्नो जिवन निर्वाह गर्न सजिलो होस भनेर ज्ञान आर्जन गर्ने गर्दछन् । (बौद्धिक तथा प्राविधिक) जसले गर्दा उनीहरुलाई समाजको अभिन्न पाटो बनी आत्मनिर्भर बन्न सकुन । तर अबोध रिसनको यो चाहना टुटेको छ । ऊ बहिष्कृत भएको छ, उसलाई चाहिने आधारभूत आवश्यकताबाट बञ्चित गरिएको छ ।

२८ बैशाख २०६९ साल विहिबारका दिन आमा रेनुका मानन्धरको गर्भबाट एउटा बालकको जन्म हुन्छ परिवार हर्षित हुन्छन् । आमा रेनुका र बुबा सञ्जय आफ्नो नयाँ सन्तान पाएको उपलक्ष्यमा साह्रै हर्षित थिए । साथीभाई इष्टमित्र सबैलाई आफ्नो गक्ष अनुसारको मिठाई बाँढे । रेनुका एक सामान्य गृहणी हो भने सञ्जय एउटा प्राइभेट कम्पनीमा चालकको रुपमा काम गर्दै आइरहेका छन् । उनीहरु काठमाडौंकै रैथाने भए पनि आफ्नो घर छैन । बसाई डेरा कै हो र कमाई श्रीमान्को मात्र ।

रेनुका र सन्जय खुसी हुँदै आफ्नो सन्तानका साथ आफ्नो जीवनयापन गर्दै आइरहेका थिए । तर उनीहरुको त्यो खुसीमा चाँडै नै ग्रहण लाग्यो । जन्मदै बच्चा नर्मल जस्तो थिएन, हलचल नै गर्दैन थियो । उनीहरुको मनमा शंका र डरले विस्तारै घर गर्दै जान थाल्यो । जब बच्चा ११ महिनाको भयो, उनीहरुले डाक्टरको सल्लाह लिने सोच बनाए । चिकित्ससँग सल्लाह गरेर एमआरआई गर्दा बच्चामा समस्या देखियो । सबै खुसी क्षणभरमै खरानी भयो । तैपनी रेनुका र सन्जयले हार मानेनन । आमा बाबु जो भए रेनुले छोराको लागि थेरापि गर्न थालिन । आफैले पनि थेरापी सिकिन । अब उनको सपना, कामना, प्राथना छोरो रिसनलाई ठिक गर्नु थियो । दिन वित्यो, रात वित्यो आफ्नो सम्पूर्ण ध्यान उनले आफ्नो छोरा रिसनमा केन्द्रित गरिन । तर समय कहाँ उनको पक्षमा थियो र ? समयले फेरि उनीमाथि निर्मम प्रहार गर्यो ।

छोरा बामे नसरेनी बोल्ने आस थियो उनको । तोते बोलीमा आमा भन्लाकी भन्ने थियो, त्यो पनि भएन । रिसनमा शारीरिकसँगै बौद्धिक अपांगता पनि देखियो । जति दुःख भएपनि आमाको मन न हो उनले हुने जति सबै गरिन । आफैले थेरापी सिकेर घरमै गर्न थालिन । समयको तालमा सबै सेवा सुसार गरिन् । उनलाई आफ्नो छोरा शारीरिक तथा बौद्धिक अपांग भएपछि केही सिकोस भन्ने चाहना थियो । संजोगवस काठमाडौं महानगरपालिकाभित्र रहेको भीमसेनगोेलास्थित निर्मल बालविकास केन्द्रमा विदेशी दाताले एक जना थेरापिष्ट जानेको मान्छे राख्ने भएछ र उनै रेनुलाई उनको अनुभवका आधारमा करारमा एक वर्षको लागि राखेछ ।

उनीले आफूसँगै छोरालाई पनि त्यहीँ बालविकास केन्द्रमा लाने गरिन । छोरालाई भर्ना गर्न त्यहाँको प्रधानाध्यापक ज्योती खनालसँग कुरा राखिन । सुरुमा हुन्छ भनेर फारम भर्ना गर्न लगाईं तपाईको छोरा भर्ना गरिदिएँ भनेर जानकारी गराइन । तर जब राज्यले दिने सेवासुविधा पाउने समयमा भने प्रधानाध्यापक खनालले तपाईको छोरा भर्ना गरेको छैन । मात्र फर्मालिटीको लागि मात्र गरेको भन्ने जवाफ दिइन । खनालले उनलाई ‘तपाईको छोरा बौद्धिक अपांग होइन, यो रिपोर्टलाई म मान्दिन, मैले भनेको डाक्टरसँग जँचाएर रिपोर्ट ल्याउने’ भन्ने जवाफ दिइन । एक पीडित आमालाई शिक्षाको ज्योती छर्ने ठाउँको प्रमुखले यस्तो भनेपछि अरुको के कुरा गर्नू र ?

उनले त्यो पनि स्विकार गरेर प्रअ खनालले भनेको डाक्टरलाई पनि आफ्नो बच्चाको परिक्षण गराईन । डाक्टरले पनि बौद्धिक अपांगता भएको पुष्टि गरिदिए । त्यसपछि खनालले फेरी अर्को कुरा गर्न थालिन । यो शारीरिक अपांगको लागि हैन, तपाईको छोरा शारीरिक रुपमा पनि अपांग छ । त्यसैले यसलाई यहाँ भर्ना गर्न मिल्दैन । यत्तिमा मात्रै खनाल रोकिइनन् । उनले बर्षौदेखिको गाडीको रुट नै परिवर्तन गरिदिइन् । जसले गर्दा रेनुले ठुलो पीडा सहनु पर्यो । त्यसपछि त खनालको रिसको पारो चढ्यो । उनले डोनरलाई यसले मलाई मेन्टल्ली टर्चर गरी, यसको करार थप्न दिनुहुन्न समेत भनिन ।

उनलाई त्यस स्कूलबाट निकाली छाडिन् । खनालको ज्याद्धतीबिरुछ रेनु अपांग महासंघ पनि धाइन । त्यहाँको चिठीलाई समेत प्रअ खनालले व्यवास्ता गरीन । खनालकै कारण एउटी पीडित महिला जो राज्यले आफ्नो अपांग सन्तानलाई दिएको सेवासुविधा पाउन यति धेरै संघर्ष गर्दा पनि सेवाबाट बञ्चित हुनुपर्यो । यो त एउटा उदाहरण मात्रै हो । यस्ता थुप्रै रेनु र रिसनहरु अहिले पनि नेपाली समाजमा प्रताडित भइरहेका छन ।