जनता टाइम्स

१७ मंसिर २०७६, मंगलवार १३:४६

एसपी आफै ग्राहक बनेर पनौती पुगेपछि…


काठमाडौं, मंसिर १७ । रातारात करोडौँ रुपैयाँ कमाउने प्रलोभनमा परी अवैध काममा संलग्न रहेका पाँच जना प्रहरीको फन्दामा परेका छन । महानगरीय अपराध महाशाखाको टोलीले बिशेष सूचनाको आधारमा चलाएको अप्रेशनमा उनीहरु पक्राउ परेका हुन ।

अपराध महाशाखाको विशेष टोलीले एक लाखको पत्थर देखाएर करोडौँको कारोबार गर्न खोज्न उक्त समूहलाई काभ्रेको पनौतीबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काभ्रे बेथानचोक गाउँपालिका–४ घर भई पनौती बस्दै आएका ६२ वर्षीय नवराज खड्का, झापा गौरादह नगरपािलका–१ घर भएका ३८ वर्षीय हरि खापुङ, झापा शिवसत्राक्षीधाम नगरपालिका–४ घर भएका ३७ वर्षीय यमकुमार गिरी, मोरङ बुढीगंगा गाउँपालिका–५ घर भएका २५ वर्षीय लोकबहादुर सार्की र रौतहट चन्द्रपुर नगरपालिका–१ घर भएका ३३ वर्षीय भीमबहादुर लामा रहेका छन् ।

प्रहरीका अनुसार पनौती बजारमा गैरकानुनी रुपमा विभिन्न पत्थरहरु ओसारपोसार गरी करोडौं मूल्य पर्ने भनी झुक्याई कारोवार हुन्छ भन्ने विशेष सूचना आएपछि मंसिर १२ गते महाशाखाबाट टोली खटाइएको थियो । महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार अप्रेशनका लागि महाशाखाका एसपी ईश्वर कार्कीको कमाण्डमा ग्राहक बनेर टोली पुगेको हो । ‘करोडौँ मूल्यको धातुको कारोबार हुने सूचना पाउनेबित्तिकै व्यापारीको भेषमा एसपी ईश्वर कार्कीको कमाण्डमा टोली खटाइएयो, टोलीले रंगेहात पक्राउ गर्न सफल भयो,’ महाशाखाका प्रमुख एसएसपी थापाले भन्नुभयो । सादा पोसाकमा हतियारसहित पनौती पुगेका खटिएका एसपी कार्की आफै सुरुमा ग्राहक बनेर उनीहरुसँग सामान डिल गर्नुभएको थियो ।

डिल गर्ने क्रममा उनीहरुले सुरुमा एसपी कार्कीलाई नक्कली धातुको पत्थर देखाएर झुक्याउने प्रयास गरेका थिए । ‘सुरुमा उनीहरुले धातु देखाउन मानेका थिएनन् । पछि अनेकथरी भनेर कन्मिन्स गरेपछि धातुको पत्थर देखाउन मानेका हुन् । धातु देखाउने बित्तिकै उनीहरुलाई नियन्त्रणमा लिइएको हो,’ एसपी कार्कीले भन्नुभयो । प्रहरीले उनीहरुको साथबाट विभिन्न रङका मोजनाइट, काइनेटिक, ब्ल्याक स्टोन, ग्रिन डायमण्ड जस्तो देखिने पत्थर, एल.बि. डायमण्ड जस्तो पत्थर, फेन्सि डायमण्ड जस्तो देखिने स्टोन, पुष्पराजहरु, निलम, लसुनिया, रुबीहरु समेत गरी जम्मा ५,०६१.९९ क्यारेट र पहेंलो धातुमा जडित औंठी ८.९३ ग्राम फेला पारी बरामद गरेको छ ।

उनीहरुको साथबाट बरामद सामानलाई परीक्षणका लागि नेपाल रत्न तथा आभूषण संघमा पठाइएको छ । प्रहरीले पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाहीको लागि त्रिभुवन विभानस्थल भन्सार कार्यालय, गौचर काठमाडौं पठाएको छ ।