जनता टाइम्स

१७ मंसिर २०७६, मंगलवार १६:२०

साग पुरुष फुटबल : दशरथ रंगशालमा नेपालको विजयी शुरुवात


काठमाडौं, मंसिर १७

तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत फुटबलमा नेपाली पुरुष टोलीले विजयी शुरुवात गरेको छ । मंगलबार भएको पहिलो खेलमा भुटानलाई ४ शुन्य गोल अन्तरले हराउँदै नेपालले विजयी शुरुवात गरेको हो ।

नेपालका तर्फबाट सुजल श्रेष्ठले २, अभिषेक रिजाल र मिक्चेन तामाङले फ्रि–किकमार्फत् गोल गर्दै नेपाललाई विजयी बनाएका हुन् । दशरथ रंगशालाको पुर्ननिर्माण गरेपछि नेपालले त्यहा खेलेको यो पहिलो खेल हो । पहिलो हाफको पाँच मिनेटमा श्रेष्ठले गोल गरी अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक शुन्यको अग्रता लिएको नेपालले बाँकी गोल दोस्रो हाफमा गरेको थियो । दोस्रो हाफको ५२ मिनेटमा पनि श्रेष्ठले नै अर्को गोल थपेका थिए । ६५ मिनेटमा अभिषेकले तेस्रो गोल थपेपछि नेपालले अग्रता फराकिलो पार्दै लगेको थियो ।

खेलको ७६ मिनेटमा मिक्चेनले फ्रि–किकमार्फत् अर्को गोल थपेपछि नेपालले फराकिलो गोल अन्तरले जित हासिल गरेको हो । यससँगै नेपालले सागको पहिलो खेलमा नेपालले जितको खाता खोलेको छ ।