जनता टाइम्स

२७ बैशाख २०७६, शुक्रबार १३:१६

रुपन्देहीको ककरहवा नाका बन्द


खस्यौली, वैशाख २७

भारतको लोकसभाको निर्वाचनलाई लक्षित गरेर आजदेखि तीन दिनसम्म रुपन्देहीको ककरहवा नाका बन्द भएको छ । नाका बन्द भएपछि आवतजावत र ढुवानी पैठारीको काम केही दिनका लागि बन्द हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय रानाले जानकारी दिनुभयो । उहाँका अनुसार एम्बुलेन्स सेवा र तेलको ढुवानी हुने काम भने रोकिने छैन ।

“केही दिनको नाका बन्दले नेपाललाई ठूलो समस्या पर्दैन”, प्रमुख जिल्ला अधिकारी रानाले भन्नुभयो । करीब १५ दिनअघि रुपन्देहीका सुरक्षा अधिकारी र भारतीय सुरक्षा अधिकारीबीच भएको संयुक्त बैठकले सो निर्णय गरेको थियो । भारतको उत्तरप्रदेशस्थित सिदार्थनगरमा निर्वाचन हुँदैछ ।

भारतको सो जिल्लासँग रुपन्देहीको ककरहवा नाका जोडिएको छ । त्यसैगरी कपिलवस्तुको कृष्णनगर, खुनुहवा, चाकरचौडा नाकासमेत बन्द हुने बताइएको छ । नेपालमा निर्वाचन हुँदा पनि दुवै पक्षको सहमतिमा सुरक्षाका हिसाबले नेपाल–भारत नाका बन्द गर्ने प्रचलन छ ।