जनता टाइम्स

१८ मंसिर २०७६, बुधबार ०९:३२

दुई महिनाभित्र काठमाडौंका सडक हुने भए चिल्ला, मंगलबारबाट थालियो यस्तो काम


काठमाडौं, मंसिर १८

काठमाडौँ उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुर्ने कार्य सुरु भएको छ । दुई महिनाभित्र सडकका खाल्डाखुल्डी पुरिनेछ । यो अभियानअन्तर्गत मङ्गलबार कोटेश्वर–चाबहिल सडक खण्डमा खाल्डाखुल्डी पुर्ने काम भयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्सिर ९ गते सम्पन्न चालू आर्थिक वर्ष २०७६\७७ को चौमासिक समीक्षा बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सडकको खाल्डाखुल्डीको गीत कहिलेसम्म सुन्ने हो’ भन्दै सडकको खाल्डाखुल्डी चाँडो पुर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको थियो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्बाङले दुई–तीन महिनाभित्र काठमाडौँ उपत्यकाका सङ्घीय सडकहरूका खाल्डाखुल्डीहरूलाई पुरिनेछ भन्नुभयो । उहाँले योजना बनाएर मङ्गलबारबाट खाल्डाखुल्डी पुर्ने कार्य सुुरु गरिएको स्पष्ट पार्नुभयो । मन्त्रालयले सडक निर्माण, मर्मत तथा खाल्डाखुल्डी पुरिने कार्यको अनुगमन गर्ने जानकारीसमेत उहाँले दिनुभयो । मुलुकभरिका सडकका खाल्डाखुल्डीहरू पुरिने काम नसकेसम्म यो अभियान निरन्तर रूपमा चलिरहने उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “अबको दुई महिनाभित्र काठमाडौँ उपत्यकाका सङ्घअन्तर्गत पर्ने सडकहरूको खाल्डाखुल्डीलाई पुरिने योजना भौतिक पूर्वधार तथा यातायात मन्त्रालयको छ ।’’ विभिन्न निकायअन्तर्गत काठमाडौँ उपत्यकामा रहेका सबै सडकलाई ती निकायहरूसँग समन्वय गरी खाल्डाखुल्डी पुरिने लक्ष्य मन्त्रालयको रहेको उहाँले बताउनुभयो ।

पहिलो चरणमा काठमाडौँ उपत्यकाका सडकको खाल्डाखुल्डी र दोस्रो चरणमा काठमाडौँ बाहिरका राजमार्ग तथा सडकहरूको खाल्डाखुल्डी पुरिने योजना मन्त्रालयको रहेको जानकारीसमेत उहाँले दिनुभयो । प्रधानमन्त्री ओलीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलिया सहितको अनुगमन टोलीले मङ्गलबार कोटेश्वरदेखि चाबहिलसम्म खाल्डाखुल्डी पुरिने कार्यको अनुगमनसमेत गर्नुभएको थियो ।

विकास व्यवस्थापनविज्ञ थपलियाले सडकका खाल्डाखुल्डीबारे प्रधानमन्त्रीले लिनुभएको चासोपछि विशेष योजना बनाएर खाल्डाखुल्डी पुरिने कार्यलाई अगाडि बढाइएको बताउनुभयो । खाल्डाखुल्डी पुरिने अभियानको पहिलो दिन कोटेश्वरदेखि चाबहिलसम्मको सडकको खाल्डाखुल्डी पुरिने काम सम्पन्न भएको जानकारी दिँदै उहाँले अब कुनै पनि दिन नरोकी ‘नन स्टप’ रूपमा यस कार्यलाई निरन्तरता दिने उहाँले स्पष्ट पार्नुभयो ।

भौतिक पूर्वाधार तथा यतायातमन्त्री नेम्वाङले प्रधानमन्त्री ‘स्पिड’मा शीघ्र ‘एक्सन’मा आउनुभएको बताउँदै उहाँले भन्नुभयो, “खाल्डाखुल्डी पुरिने अभियानअन्तर्गत काठमाडौँ उपत्यकामा काठमाडौँ सडक डिभिजन कार्यालयअन्तर्गत रहेका ९३ वटा, ललितपुर सडक डिभिजन कार्यालयअन्तर्गत पर्ने ३८ वटा र भक्तपुर सडक डिभिजन कार्यालयअन्तर्गत पर्ने १९ वटा सडकका खाल्डाखुल्डी पुरिनेछ ।” (गोरखापत्र)