जनता टाइम्स

१८ मंसिर २०७६, बुधबार १२:३५

नेकपाको सचिवालय बैठकले गर्यो यी दुई निर्णय


काठमाडौं, मंसिर १८ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मंसिर १४ गते भएको उपनिर्वाचनको समीक्षा प्रतिवेदन मागेको छ । अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले तल्ला कमिटीसँग चुनावको समिक्षा प्रतिवेदन मागेको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले निर्वाचन भएका प्रतिनिधि सभा, प्रदेश सभा, गाउँपालिका, नगरपालिका र वडा कमिटीलाई समीक्षा प्रतिवेदन पठाउन निर्देशन दिएको छ । सचिवालय बैठकले उपनिर्वाचनमा अन्तर्घात नभएको निष्कर्ष पनि निकालेको छ । ‘दाङको घोराही–१६ मा हाम्रै बागी उम्मेद्वारका कारण हारिएको हो । अरू ठाउँमा पार्टीभित्र अन्तरघात भएको कुरा आएको छैन,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘आफ्नो क्षेत्रमा के भएको हो भन्नेबारे समीक्षा पठाउन सम्बन्धित कमिटीलाई भनेका छौं ।’

गत १४ गते भएको उपनिर्वाचनमा नेकपाले भक्तपुरमा प्रदेश सभा सदस्य र धरान उपमहानगरमा मेयर गुमाएको छ । दुई वर्षअघि नेकपा (तत्कालीन एमाले÷माओवादी केन्द्र) ले जितेका ६ ओटा वडामा पनि यसपालि नेपाली कांग्रेसले जितेको छ । यस्तै ६ दशकदेखि कम्युनिष्टको गढ रहेको धरानमा पराजित भएपछि नेकपाभित्र हारको कारणबारे बहस जारी छ । स्थानीय तहका नेताहरु एकअर्कामाथि दोष लगाइरहेका छन । सोही बिषयमा यथार्थ जानकारी लिन र आगामी दिनमा पार्टीले लिनुपर्ने रणनीतिका लागि नेकपाले समिक्षा प्रतिवेदन मागेको हो ।

सचिवालय बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । नेकपाका दुई अध्यक्षमध्ये प्रचण्डले पार्टीको कार्यकारी जिम्मेवारी लिनुभएपछि बसेको यो पहिलो बैठक हो । नेकपाले अर्काे सचिवालय बैठक मंसिर २३ गतेका लागि तय गरेको छ । सोही बैठकमा पार्टीको कार्ययोजनाका साथै स्थायी र केन्द्रीय कमिटीको बैठकको मिति टुंगो लगाइने प्रवक्ता श्रैष्ठले जानकारी दिनुभयो ।