जनता टाइम्स

१८ मंसिर २०७६, बुधबार १२:५०

सडक सुरक्षाको प्रत्याभूति गराउन माग, सडक यातायात असुरक्षित हुँदै


काठमाडौं, मंसिर १८

मौलिक जरोकिलो पार्टीले सर्वसाधारणलाई सडक सुरक्षाको प्रत्याभूति गराउन र प्रत्येक सडक दुर्घटनालाई गम्भीरतापूर्वक लिएर भविष्यका लागि पाठ सिक्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । सडक यातायात असुरक्षित हुँदै गए पनि सर्वसाधारणको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने सुरक्षाको विषयमा सरकार गम्भीर नभएको पार्टी प्रवक्ता लीलाबहादुर बानियाँले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

बागलङको बडिगाडमा मङ्गलबार भएको जीप दुर्घटनामा मृत्यु भएका यात्रुप्रति पार्टीले श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । गत हप्तामात्र अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा बस दुर्घटना हुँदा १९ को मृत्यु भएको घटना नसेलाउँदै फेरि बागलुङमा जीप दुर्घटना भएको हो । यसअघि दशैँ र तिहारमा पनि सिन्धुपाल्चोकमा ठूला दुई बस दुर्घटना भएका थिए ।

दैनिक औसत छ जना नेपालीले सडक दुर्घटनाका कारण ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाउँछ । सवारी चालक तथा पैदलयात्रुलाई सडकको सुरक्षित प्रयोग सम्बन्धी जनचेतना जगाउन सो पार्टीले सरकारलगायत सरोकार भएका निकायसँग सहकार्य गर्न तयार रहेको जनाएको छ ।