जनता टाइम्स

२७ बैशाख २०७६, शुक्रबार १५:१०

११ महिने छोरीलाई आगो लगाएर हत्या गरी बाबु–आमा नै भागेपछि…


दार्चुला, बैशाख २७

व्यास गाउँपालिका वडा नं ५ चुकपानीमा एक अभिभावकले आगो लगाएर आफ्नै शिशुको हत्या गरेका छन् । २२ वर्षीय नवीन विष्टले आफ्नो ११ महिने छोरी अनुस्काको बिहीबार राति आगो लगाएर हत्या गरेका हुन् । घर नजिकै रहेको लुठ्ठा (खर) मा आगो लगाएर छोरीको हत्या गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिनुभयो ।

उक्त घटनामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले निज विष्ट र उसकी पत्नी शीलालाई पक्राउ गरेको छ । उनीहरुलाई शुक्रबार बिहान घरबाटै पक्राउ गरी सदरमुकाम ल्याइँदैछ । राति छोरीको हत्यापछि भाग्न लागेका दुबैलाई स्थानीयवासीको सहयोगमा राति नियन्त्रणमा लिइएको वडा नं ५ का अध्यक्ष मङ्गलसिंह धामीले जानकारी दिनुभयो । हत्या गर्नाको कारण खुलाइएको छैन ।